नमोबुद्ध संवाददाता,,, ……

काठमाण्डौं–नेपालका विविध जातजाती र समुदायमा धेरै गित संगित तथा चलचित्रको विकास भएको छ भने त्यो समुदाय हो तामाङ समुदाय । यस्ता कामलाई समुदायप्रति उत्तरदायी बनाउन,व्यवसायिक धारको विकास गर्न,पेसागत हकहितको वकालत गर्न चलचित्र कलाकारहरुले आफ्ना छाता संस्थाको रुपमा अघि बढाईरहेका छन् तामाङ चलचित्र संघलाई ।

संघको मंगलबार अहिले केहिबेरमै १० औं वार्षिक साधारणसभा र पाँचौ राष्ट्रिय महाधिवेशन हुदैछ । चलचित्र विकास बोर्डको हल चावहिलमा हुन लागेको महाधिवेशनमा को को भिड्दैछन् ? चासो कलाकर्मीदेखी दर्शक स्रोतासम्ममा उत्तिकै छ ।

हाल उपाध्यक्ष रहेका विकु थोकर,अमिर दोङ,सुकुमाया मोक्तान र दोर्जे लामा अध्यक्षको आकांक्षीको रुपमा देखिएका छन् । उनिहरु दशक लामो समयदेखी चलचित्र कर्ममा क्रियाशिल छन् । बाहिर हेर्दा सबैले आफूलाई योग्य रहेको दावीका साथ प्रतिस्पर्धामा उत्रिएको देखिएपनि भित्रि रुपमा उनिहरु मिलेर जाने पक्षमा छन् ।

सर्वसम्म गराउने प्रयासमै हुनुहुन्छ वर्तमान अध्यक्ष जेनिश लामा । लोकतान्त्रिक प्रक्रिया भएपनि चुनावबाट छानिएको नेतृत्व तथा पदाधिकारीबिच खुट्टा तान्ने प्रवृत्ति हुन सक्ने खतरा रहेकोले यसो नहोस् भनेर सर्वसम्मत गराउन खोज्नु निकै सकारात्मक रहेको तामाङ्ग चलचित्र क्षेत्रका वुद्धजीविहरु बताउँछन् ।

तामाङ चलचित्र संघ तथा सम्पुर्ण कलाकर्मीको भविष्यका लागि मिलेर जानुको विकल्प नभएको उनिहरुको निश्कर्ष छ । मुलुकमा राजनीतिक क्रान्तीको सफल समापनपछि समृद्ध मुलुक बनाउने सपना मुताविक यो सपनाको कँही न कतै चलचित्रलाई पनि जोड्न सकिनुपर्ने भएकोले कुशल नेतृत्वको खोजि भएको छ ।

करोडौंको लगानीमा सयौं चलचित्र बनाईसक्दा,आ–आफ्नै शैलीमा अघि बढ्न खोज्ने चलचित्रकर्मीहरु बिचको द्धन्द हटाई गुज्युङमुज्युङ पाराको बाटो छोडी नयाँ धारको बाटो पहिल्याउन सक्ने नेतृत्व आवश्यक रहेको बुद्धिजिवीहरु औंल्याउछन् । त्यसैले समुदायको निर्माणमा आ–आफ्नो सिप क्षमतालाई सदुपयोग गर्न,एकले अर्काको आत्मसम्मानका साथ अघि बढ्न वर्तमान नेतृत्व पनि सर्वसम्मत रुपमा खोजिएको स्पष्ट हुन्छ ।

यि चार प्रत्यासीहरुबिचमै को अध्यक्ष होला ? को उपाध्यक्षमा बस्लान् ? को बाहिरिएलान् ? यो कुरा मंगलबार अपराह्ननै थाहा पाउने छन् आम समुदायले । सर्वसम्मत गराउने क्रममा पनि विकु थोकर र अमिर दोङ कडा प्रत्यासी देखिन सक्ने सम्भावना छ ।

अन्तःतगत्व अमिर र बिकुबिच सौहार्दपुर्ण वातावरण बन्ने र विकुले अध्यक्षता ग्रहण गर्ने एक थरी चर्चा तामाङ चलचित्र वृत्त र दर्शकहरुमाझ छ । चलचित्र संघको भावि बाटो सहज रुपमा तय गर्न उहाँहरु दुबैलाई मिलेर अघि बढ्न कलाकर्मीहरुको ठूलै दबाब रहेको बुझिन्छ । महासचिवमा वर्तमान सचिव आउने देखिन्छ ।

जेनिश नफर्कने

तीन कार्यकालसम्म नेतृत्व हाँकेका वर्तमान जेनिश लामाले आफु फेरि नफर्कने नमोवुद्ध खबरलाई बताउनुभयो । संस्थामा नयाँ नेतृत्वको विकासको पक्षमा उभिनुभएको छ जेनिश लामा । कला संगितका साथै राजनीति अनि व्यवसायमा समेत उत्तिकै सक्रिय लामाले नेतृत्वको मैदान अरु साथीहरुकै लागि खाली रहेको बताउनुहुन्छ ।
बारम्बार अध्यक्षमा जेनिशकै चर्चा ? यो प्रश्न आउन सक्छ ।

संस्थाको नेतृत्व विकासको सवालमा स्वभाविक होला तर संस्थाको अवस्था र भावी भविष्य जोडेर हेर्दा उहाँमा राम्रो भिजन र कुशल नेतृत्वको क्षमता देख्नेहरु पुनः जेनिश नै फर्के पनि आपत्ति जनाउने पक्षमा छैनन् ।

संघलाई एकतृत गर्न,संस्थाको संस्थागत छवि बनाउन,चलचित्रलाई समुदायको भावनासँग जोड्न,कलाकारहरुको क्षमता विकास तथा व्यवसायिकतातर्फ अघि बढाउन पहलकदमीका साथै संस्थालाई राज्यसम्मको पहुँचमा पुर्याउन, आदिवासी चलचित्रको पक्षमा केहि नीतिगत व्यवस्था गराउनुमा जेनिशको ठुलो योगदान रहेको उनिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !