धुलिखेल–स्थानिय शुषासन,पारदर्शिता र जवाफदेहीता स्वरुप गरिने सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण काभ्रेको १३ वटै स्थानिय तहका लागि नौलो हो । यि स्थानिय तहलाई यसबारे कार्यविधि तथा नीति नभएर वा थाहा नपाएर,यि कुनै पनि कारणले सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण नौलो विषय बनेको हैन ।
मुख्य कारण हो नागरिकको सेवा प्रति गैरजिम्मेवारीपना,आनियमितताको ढाकछोप । वर्षमा तीनपटकसम्म सार्वजनिक सुनुवाई गरेर सेवाग्राहीलाई दिनुपर्ने सेवा चुस्त दुरुस्त,छिटो छरितो र पारदर्शि बनाउदै जानुपर्नेमा जिल्लाका प्राय स्थानिय तह यसमा चुकेका छन् यो गम्भीर विषय हो ।
यिनै सन्दर्भमा वुधबार मण्डनदेउपुर नगरपालिकाको ५ र ६ नम्बर वडा कार्यालय गैरीविसौनाले भने पहिलो पटक सार्वजनिक सुनुवाई गर्यो । यो मण्डन देउपुर नगरपालिकाका वडाहरुमै पहिलो सार्वजनिक सुनुवाई भएको बुझिन्छ ।
‘समुदायको अगुवाईमा जवाफदेहीताको असल अभ्यास परियोजना’ अन्तरगत युएसएडको सहयोगमा शैक्षिक नमुना ग्रामिण विकास केन्द्रको व्यवस्थापनमा वडा कार्यालय आफैंले नागरिकप्रति जिम्मेवार बन्न गरेको सार्वजनिक सुनुवाई कार्यक्रमको स्थानियस्तरबाट प्रशंसा भएको छ ।
सुरुमा वडा नम्बर ५ बाट वडा सदस्य हरिबहादुर डोटेल र वडा नम्बर ६ का तर्फबाट वडा सदस्य भिममणी ढकालले गत वर्षभरी आफ्ना वडामा संचालित योजना,आयोजनाको अवस्था,त्यसको नतिजा,बजेटको अवस्था तथा सेवा प्रवाहको स्थितिबारे जानकारी गराए । वडा सचिव रविन्द्र तिमल्सीनाले करिब ९ लाखको आन्तरिक आम्दानी विवरण सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा उपस्थित सेवाग्राही खुलेर प्रश्तुत नभएपछि वडा नम्बर ५ का अध्यक्ष नेत्रप्रसाद ढकाल र वडा नम्बर ६ का अध्यक्ष डिल्लीप्रसाद आचार्यले भने –‘हामी जनताकै काम गर्न जिम्मेवारी लिएका मान्छे,काम गर्दै जाँदा केहि कमीकमजोरी भएका हुन सक्छन्,भन्नुहोस् हामीले गरेका काम कस्तो लाग्यो ? आगामी दिनहरुमा कसरी अगाडी बढ्ने ?’
त्यसपछि मुक्ति ढकालले वडामा आएको कुला बजेट र खर्च भएकोबारे बजेट स्पष्ट नभएको गुनासो गर्नुभयो । स्थानिय महिला अधिकार मञ्चका अध्यक्ष मञ्जु पाठकले केहि बजेट फ्रिज भएकोमा दुख व्यक्त गर्दै आगामी दिनमा महिला भवन आवश्यक रहेको बताउनुभयो ।
स्थानिय उपभोक्ता समितिका नेत्रप्रसाद लम्सालले एउटै अपभोक्ता समितिलाई दुईवटै वडाबाट बजेट छुट्टाएको पो होकी भन्ने जिज्ञासा राख्नुभयो । गोकुल डोटेलले युवाहरुका लागि वडामा उपलब्धीमुलक काम नभएको गुनासो गर्नुभयो ।
शैक्षिक नमुना ग्रामिण विकास केन्द्रका वोर्ड सदस्य चित्रप्रसाद दुलालले कार्यविधि तथा निर्देशिकाअनुसार स्थानिय क्षेत्रमा क्षमता विकासका कामहरु प्नि गर्न सकिने सुझाव दिनुभयो । टिकाराम डोटेल,लक्ष्मण विक,रामचन्द्र ढकाल लगायतले वास्तविक भुकम्प पिडितहरुलाई लाभग्राहीको सुचिमा पार्नुपर्ने,महिला,जनजाती,दलित समुदाय विशेषका लागि कार्यक्रम गर्नुपर्ने आवश्यकता औंल्याए ।
उनिहरुले नागरिकले पाउने सेवा सुविधाका साथै भए गरेका विकास निर्माणका कामहरु पनि नागरिक वडापत्रमा उल्लेख हुनुपर्ने बताए । केहिले अवैध रुपमा नदिजन्य बस्तुको उत्खनन तथा विक्री वितरण भईरहेकोमा आपत्ति जनाए ।
पुर्व गाविस अध्यक्ष योगनाथ डोटेलले वडाको आम्दानीको स्रोतको रुपमा रहेको एम्वुलेन्स सञ्चालनमा किन खटपट आईरहेको भनि राखेको जिज्ञासामा स्वास्थ्य चौकी ईञ्चार्ज सत्यनारायण ठाकुरले वडाबाट आर्थिक सहयोग भएपछि मर्मत गरी अब नियमित रुपमा सेवा सुचारु भएको स्पष्ट पार्नुभयो ।
वडाअध्यक्ष द्धय नेत्रप्रसाद ढकाल र डिल्लीप्रसाद आचार्यले छोटो समयमा आफ्ना वडाका लागि प्राप्त बजेटको अधिकतम सदुपयोग गर्ने प्रयास गरेको दावी गरे ।
कुनै पनि आयोजनामा दोहोरो बजेट नहालेको जानकारी दिए । सामाजिक परिचालनमा सहज स्थिती नभएकोले केहि योजना फ्रिज भएको स्वीकार्दै वडा नम्बर ६ का अध्यक्ष आचार्यले नागरिकको ईच्छा चाहना अनुसार योजनाहरु सम्पन्न गराएको जानकारी दिनुभयो । टुक्रे योजनाहरु धेरै हुदा त्यसको खास दिर्घकालीन उपलब्धीहरु नदेखिएकोले आगामी वर्षहरुमा थोरै योजनामा बजेट लगाएर अधिकतम उपलब्धी हाँसील गर्ने योजना रहेको उहाँको भनाई छ ।
वास्तविक भुकम्प पिडितहरुको मर्मलाई ख्याल गरी बारम्बार छलफल तथा संवादहरु भईनैरहेको उहाँको स्पष्टोक्ती छ । वडा नम्बर ५ का अध्यक्ष ढकालले आफ्नो समाज बनाउन नागरिक आफैं बढि क्रियाशिल हुनुपनेृमा जोड दिनुभयो । नागरिकले अपनत्व महसुस गरेमात्र योजनाहरु सफल हुने उहाँको भनाई छ ।
शैक्षिक नमुना ग्रामिण विकास केन्द्रका परियोजना अधिकृत सिएस लामाले स्थानिय तह तथा वडाले गरेको काम नागरिकसँग प्रत्यक्ष सरोकारको विषय भएकोले धेरै लाभ लिन सक्नेगरी जवाफदेहीपुर्ण रुपमा विकासका कामहरु गर्नुपर्ने बताउनुभयो । सम्पन्न योजनाको उपलब्धीको पनि लोखाजोखा गर्ने स्थिती सार्वजनिक सुनुवाई कार्यक्रममा भए आगामी दिनका लागि नयाँ रणनीति बनाउन सकिने उहाँको तर्क छ ।
यद्यपी मण्डन देउपुर नगरपालिकाको वडा नम्बर ५ र ६ गैरीविसौनामा नगरपालिकाका वडाहरुमै पहिलो पटक सार्वजनिक सुनुवाई हुनु भने सकारात्मक पाटो रहेको उहाँको भनाई छ । उहाँले जिल्लाका सबै स्थानिय तहमा पनि यसरीनै जनताप्रति जिम्मेवार भएर अघि बढ्न सार्वजनिक सुनुवाईको आवश्यकता औंल्याउनुभयो ।
कार्यक्रममा नगर कार्यापालिका सदस्य निल कुमारी विसुंखे र चुडावहादुर शिवभक्ती,वडा नम्बर ५ का सदस्य दुर्गाप्रसाद डोटेल र पार्वती तामाङ,शिपाघाट प्रहरी चौकी इञ्चार्ज हरिशंकर घिमिरे,ज्येष्ठ नागरिकका तर्फबाट भुमिनन्द डोटेल,नागरिक सञ्जालका दुर्गाप्रसाद ढकाल र रामचन्द्र ढकाल ,महिला अधिकार मञ्चका अध्यक्ष मञ्जु पाठक,विभिन्न उपभोक्ता समिति,शिक्षक,विद्यार्थी,किसान लगायत गैरसरकारी संस्थाका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रह्यो ।