नमोबुद्ध संवाददाता

काठमाण्डौं–कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिनुभएको छ । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री तामाङले मंगलबार राजीनामा दिनुभएको हो ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले राजीनामाको घोषणा गर्नुभएको हो । नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने आफ्नो मतलाई पुष्टि गर्न उहाँले मैले सुनेको छु भन्दै बंगलादेशमाएमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य हुनु पर्ने गरेको अभिव्यक्ति दिनुभएको थियो ।

यसको सर्वत्र आलोचना भएपछि उहाँले विज्ञप्ति जारी गर्दै माफी माग्नुभएको थियो । तर, आफूले विद्यार्थीहरुले भोग्नु परेको समस्यालाई उजागर गरेको स्पष्ट पार्नुभयो ।

तामाङले यसबारे माफीसहितको वक्तव्य जारी गरेपनि सरकार र पार्टीलाई नै बदनाम गर्ने प्रयास भएको आरोप लगाउदै सत्तारुढ नेकपाका शीर्ष नेताहरुले हिजो साँझ बालुवाटार बोलाएर कानुनमन्त्री तामाङलाई राजीनामा दिन निर्देशन दिएका थिए ।

रुदै राजीनामा दिए,हाँस्दै सिंहदरबार छोडे…….

आफुले सार्वजनिक रुपमा बोलेका कुराको गलत आसयमा प्रचारबाजी भएपछि कानुनमन्त्री तामाङको चित्त दुखेको सहजै भान मिल्यो ।

श्रीमती उषाकला राईसहित पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका कानुनमन्त्री तामाङ राजीनामा घोषणा गर्दा भावुक देखिनुभयो ।

उहाँले आफूले बोलेका शब्दहरुप्रति क्षमा मागेपनि गलत आसयले आफ्नो कुराको प्रचारवाजी भएकोमा चित्त दुखाउनुभयो ।

बंगलादेशमा केहि समय अगाडी भएको महिला हिंसाको उदाहरण दिदै नेपाली चेलिवेटीको सुरक्षा र भविष्यको कुरा गर्दा यसको अन्य अर्थ लगाएर प्रचार भएको उहाँको भनाई थियो ।

उहाँले घ्वाँक्कघ्वाँक्क रुँदै सामान्य कमीकमजोरीलाई मूल विषय बनाएर दुष्प्रचार गरिएको स्पष्ट पार्नुभयो । उहाँले आफू निरन्तर नेपाली नारीहरुको सम्मानमा अगाडि बढेकाले बिरोधीहरुले नारीकै विषयमा आफुलाई लखेटेको बताउनुभयो ।

“महिला मलाई जन्माउने आमा हो, मेरो जीवन साथी हो र हामीले जन्माएका छोरी पनि महिला हुन् ,महिला प्रति मेरो उच्च सम्मान छ ।”

गलत प्रचारबाजीपछि मुलुक र जनतालाई असहज हुने अवस्थाप्रति ध्यानाकर्षण भएको भन्दै त्यसो नहोस् भनि आफुले नैतिक रुपमा राजीनामा दिएको उहाँले बताउनुभयो ।

रुँदै कार्यक्रममा आएका तामाङ राजीनामा घोषणा गरेपछि हाँस्दै कार्यक्रमस्थलबाट बाहिरिनुभयो ।

शेरबहादुरको नैतिकताको प्रसंशा

नैतिक रुपमा कमजोरी स्वीकार्दै कानुनमन्त्रीबाट राजीनामा दिनुभएका शेरवहादुर तामाङको जनस्तरबाट नैतिक दृष्टिले भने व्यापक प्रशंसा भएको छ ।

राजीनामा दिएलगत्तै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरु मार्फत उहाँको नैतिकताको प्रशंसा भएको हो । केहिले सरकारप्रति आक्रोस पनि पोखेका छन् ।

पत्रकार सम्मेलनमा रुदै बोलेका देखेका नेकपा काभ्रेका नेता जेनिश लामा पनि यसप्रति दुख व्यक्त गर्नुहुन्छ,उहाँको नैतिकताप्रति सम्मान गर्दै लामाले फेसवुकमा लेख्नुभएको छ –“ माफी मागेर पनि माफी पाएनौ, मन्त्री भएर व्यापारी जत्तिको शक्तीशाली हुन पनि त सकेनौ। यो आँशु ईमानको आँशु हो, संगालेर रख्नु । सलाम छ कमरेड । ”

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेका अध्यक्ष श्याम प्रसाद पाण्डे भन्नुहुन्छ–“गल्ती स्वीकार गर्नु महानता हो । ”

फेसबुक स्टाटस पोष्ट गर्दै उहाँले कानुन मन्त्रीको राजीनमा किन ? यहि स्तरको सजाय अरुलाई हुन्छ त ? जस्ता प्रश्नहरु पनि गर्नुभएको छ ।

सामाजिक अभियन्ता क्रान्ती दोङले फेसबुकमा यस्तो लेख्नुभएको छ ।

भगवान बुद्धले सत्यको खोजी गर्दा दरबार छोडेर जङ्गल जानुपरेको थियोे ……
शेर बहादुर तामाङले सत्यको खोजी गर्दा आज सिहदरबार छोडेर जानुभएको छ
खतरनाक सत्य खोजतलास गरेर फेरि समयले सिहदरबार ल्याउनेछ,चेताना भया….

साहित्यकार मोक्तान थेवा भने यो काण्डबाट विचलित नहुन आग्रह गर्नुहुन्छ ।

उहाँ भन्नुहुन्छ–“ शेरबहादुर तामाङको राजिनामालाई लिएर तामाङ साथीहरू यसरी विचलित र आक्रोशित भएर रोइलो गर्नु बेकार छ । बरु कम्तीमा तामाङले थोरै भए पनि नैतिकता देखाए भनेर खुशी हुदा राम्रो हुन्छ । यो राजीनामाबाट शेरबहादुर स्वयंलाई पनि संसदीय राजनीतिमा पछिको लागि फाइदा नै हुन्छ । आखिर यो दलाल सत्ता र असहिष्णु पार्टीको झोले मन्त्री हुँदैमा तामाङ समुदायको पहिचान र अधिकार प्राप्तिको लडाइँमा कुनै उपलब्धि हुने पनि हैन । मुख्य कुरा यो दलाल र पहिचान बिरोधि सत्ताको ध्वंस गर्नु हो । एकल जातिय यो दलाल सत्तामा आदिवासी र जनजातीको मुक्ति देख्नु नै एउटा भ्रम हो । यो रोइलोले दुनियाँ हसाउँछ मात्रै । रोइलो बन्द गरौँ साथीहरू । यो राजीनामा उनको अभिव्यक्तीको सन्दर्भमा अन्यथा र आश्चर्य हैन । उनको आसय गलत थिएन यद्यपि राज्यको एकजिम्मेवार मन्त्रीको हैसियतबाट उनले दिएको अभिव्यक्ती अनुचित र प्रश्न चिन्ह उठ्ने खालकै थियो ।”

उठेका प्रश्नहरु :

तामाङको राजीनामासँगै सरकारमाथि प्रश्नहरु आएका हुन् । केहि दिन अगाडी झनै विवादास्पद कुरा बोलेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाई,नैतिकतालाई कुल्ची पदीय हैसियतमा बसेका अन्य सरकारी अधिकारीलाई पनि कार्वाहीको माग उठेको छ ।

आदीवासी जनजातीहरुले भने तामाङ भएकै कारण शेरवहादुर तामाङ सजायको भागीदार भएको टिप्पणी गरेका छन् । उनिहरुले अझै राज्य सबैको साझा फुलबारी हुन नसकेको भान भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !