नमोबुद्ध संवाददाता

काठमाण्डौं–जुम्लामा आमरण अनशनमा बस्नुभएका प्रा.डा. गोविन्द केसीलाई  काठमाण्डौं ल्याईएको छ ।

डा. केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट जुम्लास्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेको हेलिकप्टरमा राखेर काठमाण्डौं ल्याइएको हो ।

प्रतिष्ठानमा केसीका समर्थक र प्रहरीबीच झडप हुँदा १२ जनाभन्दा धेरै घाइते भएका छन् ।

झडपमा गोली लागि एकजना प्रहरी गम्भीर घाइते भएका छन् र उनको जुम्लामै उपचार भइरहेको छ ।

अस्पताल परिसरमा अश्रुग्यास, गोली र झडप भएपछि केसी काठमाण्डौं जान तयार हुनु भएको हो ।

सरकारले गुन्डागर्दी शैलीमा बल प्रयोग गरेको भन्दै डा केसी रुँदै अस्पताल परिसरबाट बाहिरिनु भएको थियो ।

हेलिकप्टरमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मामिला मन्त्री नरेन्द्र कँडेलसहित शिक्षा मन्त्रालयका सचिव खगराज बराल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र प्रहरीको टोली पुगेको थियो ।

जुम्लामा वार्ता हुनै नसक्ने सरकारको अडान र संसद सचिवालयमा दर्ता भएको चिकित्सा शिक्षा विधेयक फिर्ता नलिएसम्म काठमाडौं नआउने डा. केसीको मागका कारण दुवै पक्षबीच औपचारिक वार्ता समेत सुरु हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस !