धुलिखेल :
रेडियो नमोबुद्ध एफ एम काभ्रे तथा यस नमोबुद्ध खबर डट कम अनलाइनका शिशिर दोङ (चमार सिं लामा) प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
सञ्चार माध्यमको समाचार तथा “शैक्षिक दर्पण” जस्ता रेडियो पत्रिका कार्यक्रमबाट शैक्षिक क्षेत्रको गुणात्मक विकास तथा ग्रामिण क्षेत्रमा शैक्षिक चेतना अभिवृद्धिमा उल्लेख्य योगदान गरेकोमा दोङ पुरस्कृत हुनुभएको हो ।
नेपाल पत्रकार महासंघ र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको एक औपचारिक समारोहमा मन्त्री गिरिराजमणि पोखरेलले दोङ सहित अन्य पुरस्कृत सबैलाई प्रमाणपत्र र नगद राशी हस्तान्तरण गर्नुभयो ।
पुरस्कृत भएपछि उहाँले भन्नुभयो—“यो वखत अग्रज,साथीभाई र परिवारलाई धेरै सम्झीरहेको छु, जसले मलाई मेरा जीवनका संघर्षपूर्ण सञ्चारकर्ममा साथ दिए,आज मैले मेरो कर्मप्रति गर्व गर्न पाएँ र अझै धेरै गर्न बाँकी रहेको महसुस पनि गरेको छु, यत्तिबेला स्कुल पढ्न नपाएका,निकृष्ट बालश्रम गरिरहेका बालबालिकाहरुको अनुहार झलझली आईरहेको छ आँखावरिपरी ।”
कत्तिपय ग्रामिण क्षेत्रमा बालबालिको शैक्षिक अवस्था चिन्ताजनकनै रहेको उहाँको भनाई छ ।
उहाँ भन्नुहुन्छ—“सबै बालबालिकालाई विद्यालयसम्म ल्याई पुर्याउनै नसकिरहेको अबस्थामा आएकालाई पनि कसरी र कस्ता जीवनउपयोगी शिक्षा दिलाउने भन्नेमै पो अल्झिरहेछौं हामी, अब त्यसमा रुमल्लीरहने वहाना हामीसँग छैन ।”
दोङ एक दशकदेखी काभ्रे लगायत आसपासकै पहिलो सामुदायिक रेडियो रेडियो नमोबुद्ध एफ एम १०६.७ मेगाहर्जमा कार्यरत हुनुहुन्छ ।
आदीवासी जनजाती पत्रकार महासंघ(फोनीज) काभ्रेका अध्यक्ष तथा तामाङ पत्रकार संघका केन्द्रिय सदस्य समेत रहेका उहाँ शिक्षा मन्त्रालय,अनौपचारिक शिक्षाको साुमदायिक अंग सुनकोशी जागरण सामुदायिक सिकाई केन्द्र तेमालका अध्यक्षको जिम्मेवारीमा पनि हुनुहुन्छ ।