नमोबुद्ध संवाददाता,,

०९ असार :

राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा शनिबार साँझ सार्वजनिक गरेको छ ।

एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए ।

नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ सहभागि भएकोमा उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् ।

यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी भएकोमा उनीहरु मध्ये ए प्ले ग्रेडमा कोही पनि छैनन् भने ए मा २ जना र बी प्लसमा २१ परीक्षार्थी उत्तिर्ण भएका छन् ।

यसअघि ४ बजेभित्रैमा नतिजा सार्वजनिक हुने भनिए पनि प्राविधिक कारण ढिलाइ भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनुभयो ।

नेटमा हेर्ने सुविधामा ढिलाई

एसईईको नतिजा तत्काल नेपाल टेलिकमको १६०० मा डायल गरेर मात्र थाहा पाउन सकिने सुविधा देखिएपछि परीक्षर्थीहरुले गुनासो गरेका छन् ।

अहिले तत्काल कुन विषयमा कस्तो नजिता आयो भन्ने थाहा पाउन सकिदैन । अनलाईनहरुमा नतिजा अपलोड गर्न ढिलाई भएको हो ।

शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिने बताएपनि प्राविधिक कारणवस यसमा ढिलाई भएको देखिन्छ ।

केहि बेरमा साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिने परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !