नमोबुद्ध संवाददाता,,

धुलिखेल,०८ असार :
सरकारले आगामी वर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरेको छ ।

सबै निकायबाट प्राप्त हुने राजस्व रकमको १० प्रतिशतभित्रै रहेर आन्तरिक ऋण उठाउन पाइने सिमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको हो  ।

आयोगको सचिवस्तरीय निर्णयले संघीय तथा प्रदेशले राजस्व बाँडफाँटबाट दिने रकम र स्थानीय तहको आन्तरिक राजस्वको कुल रकममध्ये १० प्रतिशतभित्र रहेर आन्तरिक ऋण उठाउन पाउने व्यवस्था गरेको आयोगका सचिव बैकुण्ठ अर्यालले जानकारी दिनुभयो ।

आयोगले गरेको विश्लेषणअनुसार ७ सय ५३ स्थानीय तहले न्यूनतम १ लाखदेखि बढीमा २ अर्ब रुपैयाँसम्म ऋण उठाउन सक्नेछन् ।

आन्तरिक ऋण स्थानीय तहले २५ वर्ष अवधिका लागि लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस !