नमोबुद्ध संवाददाता,,,

यातायात क्षेत्रको एकाधिकार (सिण्डीकेट) तोडेर प्रसंशा कमाएको सरकारका दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्माण क्षेत्रमा रहेको एकाधिकार (सिण्डीकेट) पनि तोडिने दावी गर्नुभएको छ ।

काम ठेक्का लिई अलपत्र पार्ने ठेकेदारहरुको नाम संकलन गरी कारवाही प्रक्रियामा सरकार लागेको बेला प्रचण्डले यस्तो दावी गर्नुभएको हो ।

निर्माण व्यावसायीको प्रतिनिधिमण्डलसँग पेरिसडाँडामा शनिबार भएको छलफलमा अध्यक्ष प्रचण्डले काम रोक्ने तर समयमै काम सम्पन्न नगर्ने समस्या रहेकाले यस्तो समस्या अब हटाउने बताउनुभयो ।

यसमा सानाठुला नभनि निजी क्षेत्रलाई सहजे काम गर्न सकिने वातावरण बनाउन सकिने उहाँको आसय थियो । सरकार नीजिक्षेत्रलाई निरुत्साहित गर्ने पक्षमा नरहेकोले यस मुताविक अघि बढ्ने उल्लेख गर्नुभयो ।

साना निर्माण व्यावसायीले काम नपाउने र ठूला व्यावसायीले काम होल्ड गर्दा विकासका काम रोकिएको उहाँले बताउनुभयो ।

विकास, समृद्धि र सुशासन नै आफ्नो सपना भएको उल्लेख गर्दै उहाँले सवृद्ध नेपाल निर्माणको योजनामा निर्माण व्यवसायको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

उहाँले अनावश्यक रुपमा बाहिर के प्रचार गरिन्छ, त्यतातिर विल्कुल ध्यान नदिएको र विकास, समृद्धि, सुशासन नै आफ्नो लक्ष्य भएकाले दृढताका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस !