
नमोबुद्ध संवाददाता,,
काठमाण्डौं,१५ जेठ :
नेपालको आर्थिक वर्ष २०७५÷०७६ को बजेट मंगलबार सार्वजनिक हुदैछ । सरकारले आगामी आर्थिक बर्षको आय व्ययसहितको बजेट व्यवस्थापिका संसदमा पेश गर्ने तयारी गरको हो ।
जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे संघीय संसदमा आगामी आर्थिक वर्षको लागि मुलुकको आय व्ययको विवरण (बजेट) प्रस्तुत गर्नुहुनेछ ।
स्रोतका अनुसार बजेटको अधिकांश हिस्सा चालू खर्चकै लागि विनियोजन भएको छ भने पुँजीगत खर्च आन्तरिक ऋण र वैदेशिक सहयोग तथा अनुदानमा निर्भर रहेको छ । मुलुक संघीय संरचनामा गईसकेको अवस्थामा सरकारलाई केन्द्र, प्रदेश र स्थानीय तहका लागि बजेटको आकार वृद्धि गर्नुपर्ने चुनौती देखिएको अर्थविद्हरु बताउँछन् ।
यद्यपि सीमित स्रोत साधनका बावजुद तीन तहको आवश्यकता पूरा गर्ने गरी योजना बनेको बताइएको छ । राष्ट्रिय योजना आयोगले सुरुमा आगामी आर्थिक वर्षको बजेटको सिलिङ १२ खर्ब ४ अर्ब रुपैयाँ तोके पनि यसलाई पुनः परिमार्जन गराई त्यसैका आधारमा नयाँ बजेट ल्याउने प्रयास अर्थमन्त्री खतिवडाले गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावअनुसार जल यातायातको सम्भाव्यता अध्ययन, रेल मार्गको विस्तार, मदन भण्डारी राजमार्ग निर्माण, ऊर्जा तथा पर्यटक क्षेत्रको विकासका कार्यक्रम राखिएका स्रोतले उल्लेख गरेको छ ।
यसअघि राष्ट्रिय प्राथमिकताको सूचीमा परेका केही कार्यक्रमलाई पनि यसपटक प्राथमिकताको सूचीमा राखिएको छ । पोखरा क्षेत्रीय विमानस्थल निर्माण, भैरहवा अन्तर्रािष्ट्रय विमानस्थल निर्माण, काठमाडौं तराई फास्टट्रयाक, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, त्रिभुवन विमानस्थलको स्तरोन्नति लगायतका कार्यक्रमलाई पनि समावेश गरिएको हो ।
बजेटले तराई क्षेत्रमा सघन सहरी विकास कार्यक्रमलाई जोड दिने पनि जनाइएको छ ।