
नमोबुद्ध संवाददाता,,
धुलिखेल,१५ जेठ :
मंगलबार गणतन्त्र दिवस विभिन्न कार्यक्रम काभ्रे लगायत देशभर हर्षोल्लासका साथ मनाइदैछ । २०६५ सालमा आजकै दिन संविधानसभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सूचीमा राखिएको सम्झनामा दिवस मनाउने गरिन्छ ।
२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो ।
यहि दिनको सम्झनामा देशभर विभिन्न छलफल,विचार,गोष्ठी तथा प्रभातफेरि कार्यक्रम आयोजना भईरहेको छ । गणतन्त्र प्राप्तीका लागि मुलुकमा भएको शसस्त्र युद्धदेखी,जनआन्दोलन,विभिन्न आदीवासी तथा मधेस आन्दोलनले खेलेको भुमिकाको सम्झना गरिदैछ ।
काठमाण्डुको टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतका विशिष्ट व्यक्तिहरुको सहभागितामा विषेश कार्यक्रम आयोजना गरिएको छ ।
गणतन्त्र जनताले अझै प्रत्याभुत गर्न नसकेकोमा खवरदारी पनि भईरहेको छ । गणतन्त्रपछि आदीवासी जनजाती तथा मधेसी समुदायको केहि असन्तुष्टीकै बिच संविधान जारी भएको र अहिले ईतिहासकै शक्तिशाली स्थायी सरकार बनेकोले जनतामा केहि आसाका किरण भने देखिएको छ ।
गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धन र समृद्ध राष्ट्र निर्माणमा एक जुट हुन प्रेरणा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले जनभावनाको कदर गर्दै संविधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध हुनुपर्ने महत्वपूर्ण घडी आएको बताउनुभएको छ ।
यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका जनान्दोलन, सशस्त्र संघर्ष, जनयुद्व र २०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा जीवन बलिदान दिने सम्पूर्ण शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्दै संघर्षका क्रममा घाइते हुनुभएका योद्धाको स्वाथ्यलाभको कामना गर्नुभएको छ ।
८ सय १६ को कैदीलाई आममाफी
सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सय १६ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपति कार्यालयलले सोमबार राती विज्ञप्ती निकालेर कैद मिनाहा गरेको जानकारी दिएको हो ।
“आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८ सय १६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’’ विज्ञप्तिमा उल्लेख छ ।
तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलको नाम नपरेपनि उहाँको नाम कैद माफी हुने सूचीमा रहेको बताइएको छ ।