
नमोबुद्ध संवाददाता,,
धुलिखेल,१४ जेठ :
सरकारले देशका विभिन्न जेलमा रहेका ५ सयभन्दा बढी कैदीलाई गणतन्त्र दिवसको दिन आममाफी दिने तयारी थालेको छ ।
यसबारे आईतबार राति मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको स्रोतले बताएको छ ।
गृह मन्त्रालयको प्रस्तावअनुसार नेपालको संविधानको धारा २ सय ७६ अनुसार माफीदिन राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको जनाईएको छ ।
माफीको सूचीमा तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको नाम पनि रहेको छ ।
तर ढुंगेलको विषयमा सर्वोच्च अदालतमा मुद्दा परेको र अदालतले सरकारका नाममा कारण देखाऊ आदेश समेत जारी गरिसकेको हुनाले अदालतकै निर्णयमा माफी हुने नहुने टुङ्गो लाग्ने सरकारका प्रवक्ता सुचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।