
नमोबुद्ध संवाददाता
धुलिखेल,११ जेठ :
केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको शुक्रबार एक सय दिन पूरा भएको छ । गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले सोही दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो ।
दुई पटक विस्तार गरेर ओली सरकारको अहिले २२ सदस्यीय मन्त्रिपरिषद् छ । समृद्ध नेपाल, सुखी नेपालीको नारासहित गठन भएको सरकारबाट नागरिकले अपेक्षा पनि धेरै गरेका छन् ।
चुनावी घोषणापत्रमा आकर्षक नारा अगाडि सारेर बहुमत हासिल गरेको तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धन यो बीचमा एउटै पार्टी बनिसकेको छ ।
घोषणापत्र अनुसार नै सरकारले काम गरे ५ वर्षमा धेरै प्रगती हुन सक्ने विश्वास नागरिकको छ ।
सरकार गठन भएको सय दिनको बिचमा सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । बजेट सार्वजनिक गर्ने तयारीमा लागेको छ ।
साथै विकास निर्माणमा नियमन गर्न तदारुकता दिन खोज्नु र सार्वजनिक यातायात सेवामा दशकौंदेखीको सिण्डिकेट अन्त्य गर्नु जस्ता काम सरकारको प्रशंसायोग्य काम हुन् भनि जनस्तरबाट खसी व्यक्त भईरहेको छ ।