काठमाण्डौं,१० जेठ :
सांसदहरुले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकमा बोल्नेक्रममा सांसदहरुले सरकारको नीति तथा कार्यक्रम कार्यन्वयनमा जोड दिएका हुन् ।
नीति तथा कार्यक्रम जतिसुकै राम्रो आए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभए त्यसको कुनै अर्थ नहुने उनिहरुको भनाई छ । कार्यान्वयन हुँदा जनताको जीवनस्तर सुधार हुने उनिहरुको धारणा छ ।
सांसद अग्निप्रसाद सापकोटाले सरकारको नीति तथा कार्यक्रमले उच्च आकांक्षासहित मुलुकको समृद्धिका आधार तयार गरिएको भए पनि काम गर्ने संस्कृतिको ह्रास भएको भन्दै माथिल्लो तहबाट रुपान्तरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सांसद लक्ष्मणलाल कर्णले शान्तिका लागि संविधान संशोधन आवश्यक छ भन्दै त्यसले मात्र स्थायित्व ल्याउने बताउनुभयो । सांसद राजेन्द्र श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द पनि नीति तथा कार्यक्रममा समावेश नहुनु दुःखद भएको भन्दै एकात्मक चिन्तनबाट मुक्त हुन आग्रह गर्नुभयो ।
सांसद जयपुरी घर्तीले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गर्ने आधार तयार गर्ने गरी नीति तथा कार्यक्रम आएको भन्दै त्यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उहाँ लगायत बोल्ने अधिकांश सांसदहरुको एउटै आवाज छ –“नीति तथा कार्यक्रम प्रभावकारी कार्यन्वयन गरौं ।”
काँग्रेस नेता एवम् सांसद दिलेन्द्रप्रसाद बडूले भने केहि असन्तुष्टी जनाउनुभयो । उहाँले संघीय संसद्को पहिलो सम्बोधन भएपनि पञ्चवर्षीय कार्यक्रम पेश गरिएकामा आपत्ति प्रकट गर्नुभयो । आर्थिक वर्ष २०७५÷७६ वर्षको वार्षिक नीति तथा कार्यक्रम भए पनि दीर्घकालीन लक्ष्य पेश गरेर जनप्रतिनिधिलाई झुक्याइएको, संघीयताको सवलीकरणमा खेलाँची गरिएको भन्दै उहाँले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गर्नुभयो ।