-
नमोबुद्ध संवाददाता
काठमाडौँ — साहित्य र कला क्षेत्रका विभिन्न सात स्रष्टालाई लुनकरणदास गंगादेवी चौधरी साहित्य कला मन्दिरले हालै राजधानीमा सम्मान गरेको छ ।
यसपटक गंगादेवी चौधरी स्मृति सम्मानबाट आख्यानकार भागिरथी श्रेष्ठ, अरनिको ललितकला सम्मानबाट चित्रकार शशीकला तिवारी, सरस्वती सम्मानबाट कवि दुर्गालाल श्रेष्ठ, नारायणगोपाल संगीत सम्मानबाट संगीतकार शुभबहादुर सुनाम, इतिहासशिरोमणि बाबुराम आचार्य शोध सम्मानबाट प्रा. डा. प्रेमकुमार खत्री, बालकृष्ण सम रंग सम्मानबाट अभिनेत्री मिथिला शर्मा बोहरा र नेपाल नवप्रतिभा सम्मानबाट कवि तथा पत्रकार फूलमान वल सम्मानित भएका हुन ।
गंगादेवी चौधरी स्मृति सम्मानमा १ लाख रुपैयाँसहित ताम्रपत्र र अन्य सबै सम्मानमा ५१ हजार एक रुपैयाँसहित ताम्रपत्र रहेका छन् । सम्मानित स्रष्टाहरूलाई वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजालले दोसल्ला र साहित्य कला मन्दिरका अध्यक्ष एवं कवि वसन्त चौधरीले ताम्रपत्र हस्तान्तरण गरे । सम्मानित स्रष्टाहरूका तर्फबाट बोल्दै प्रा.डा. प्रेम खत्रीले विभिन्न क्षेत्रमा योगदान दिएकाहरूलाई खोजी–खोजी सम्मान गर्ने संस्कृति सकारात्मक भएको बताए । उनले पछिल्लो पुस्ता नेपाली मौलिक संस्कृति र ज्ञानबाट धेरै टाढा गइरहेकोप्रति चिन्ता जनाउँदै राज्य त्यतातिर ध्यान दिनुपर्ने पनि औंल्याए ।
कार्यक्रममा कवि तथा गीतकार वसन्त चौधरीको नयाँ काव्यकृति ‘चाहतों के साये में’ को गीतकार कालीप्रसाद रिजाल तथा हिन्दी भाषाका वरिष्ठ कवि एवं सामाजिक अभियन्ता डा. विजय पण्डितले लोकार्पण गरे । उक्त काव्य कृतिमा चौधरीका हिन्दीका कविताहरू अंग्रेजी अनुवादसहित छन् । डा. पण्डितले चौधरीको कृतिमा ‘मानव मनको अन्तर्यलाई समेत स्पर्श गर्ने प्रेमिल र सशक्त अभिव्यक्ति पाउने’ दाबी गरे ।
प्रसिद्ध भारतीय स्रष्टा खयामले भूमिका लेखेको कृतिमाथि त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी प्रमुख श्वेता दीक्षितले समालोचनात्मक टिप्पणी गरेकी थिइन् । चौधरीले आफ्नो लोकार्पित कृतिबाट केही कविता वाचन गर्दै आउ“दा दिनहरूमा पनि साहित्य सेवामा तल्लीन रहने बताए ।
साहित्य कला मन्दिरले गर्दै आएको स्रष्टा सम्मानको यो २४ औं शृंखला हो । ‘यति लामो समयदेखि निरन्तर स्रष्टाहरूलाई सम्मान गर्ने परम्परा प्रशंसनीय छ,’ वरिष्ठ कवि एवं गीतकार रिजालले भने, ‘स्रष्टालाई प्रोत्साहन गर्नु भनेको भाषा, कला र साहित्यको प्रवद्र्धन गर्नु हो ।’
कार्यक्रममा साहित्यकला मन्दिरका उपाध्यक्ष तथा वरिष्ठ अभिनेता हरिहर शर्माले कार्यक्रमबारे बोलेका थिए ।