- नमोबुद्ध संवाददाता,,.
धुलिखेल,०५ जेठ :
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिचको एकताले काभ्रेमा पनि उत्साह छाएको छ । विहिबार दुई पार्टीको एकता भएपछि देशमा राजनीतिक स्थीरता आउने विश्वासले काभ्रेलीमा उत्साह छाएको हो ।
दुई ठुला वाम पार्टी मिल्नु सवृद्धिको मुद्धामा एक हुनु रहेको र यसबाट मुलुकले काँचुली फेर्ने स्थानिय बाम कार्यकर्ता तथा सर्वसाधारणको विश्वास छ । मुलुकमा राजनीतिक क्रान्ती पुरा भएको भन्दै उनिहरुले अब निर्माणको बाटोमा लाग्न नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिएका छन् ।
उनिहरुले पार्टीको स्वार्थभन्दा माथि उठेर राष्ट्रको यो महान अभियानको नेतृत्वका लागि तयार हुने केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई धन्यबादका साथ शुभकामना दिएका छन् ।
एकतापछि नेपाल कम्युनिष्ट पार्टी गठन भएको खुसीयालीमा जिल्लाका शहरदेखी गाउँसम्म विभिन्न कार्यक्रम भईरहेका छन् । पार्टी एक भएको सन्देशका साथ तत्कालिन एमाले र माओवादीका स्थानिय कार्यकर्ताको नेतृत्वमा गाउँसम्म छलफल,विचार आदानप्रदान तथा दिप प्रज्वलन भईरहेका हुन् ।
यसक्रममा शनिबार साँझ धुलिखेलस्थीत विपि राजमार्ग चोकमा हजारौं सर्वसाधारणले दिप प्रज्वलन गरे । दिप प्रज्वलनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ताका साथै सर्वसाधारण समेत स्वतस्फुर्त सहभागि भए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेताहरुले मुलुक अव विकासको तिव्र गतिमा अघि बढ्ने बताए । धुलिखेल नगरपालिकाका प्रमुख तथा नेकपाका युवा नेता असोक व्यञ्जुले नेपालको कम्युनिष्ट धुव्रीकरण तथा एकताले विश्वमा नयाँ तरंग पैदा गराएको बताउनुभयो ।
उहाँले तत्कालिन माओवादीले चलाएको क्रान्ती र एमालेले चलाएको क्रान्तीलाई रचनात्मक ढंगले नयाँ उचाईमा पुर्याउने काम प्रधानमन्त्री केपी ओलीले गरेको दावी गर्नुभयो । राजनीतिक स्थीरतासंगै अब देश सवृद्धिको बाटोमा होमिएको उहाँको भनाई छ ।