- नमोबुद्ध संवाददाता,,.
काठमाण्डौं,०५ जेठ :
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेता चयन हुनुभएको छ । शनिबार बसेको नेकपा संसदीय दलको पहिलो बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको एकीकरण भएर नेकपाको स्थापना भएपछि संसदीय दलको नेता चुन्नपर्ने बैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री ओली दलको नेता चुनिनु भएको हो ।
नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न गरेको प्रस्तावमा सबै सांसदहरुले समर्थन गरेका थिए ।
बैठकलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले आपसमा कसरी मिल्ने भनेर विश्वलाई सन्देश दिने प्रकारले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता भएकाले अब यसलाई विधि, विकास र समृद्धिका लागि उपयोग गर्न आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले जनतमतबाट मुलुकको ठूलो दल बनेको कम्युनिष्ट पार्टी भएकाले जनताको चाहना बमोजिम युगलाई हाँक्न सबै सांसदले चनाखो भएर लाग्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री, मन्त्री र सरकारका काम कारबाही ठिक ढंगले भए÷नभएकाबारे अवलोकन गर्न सांसदहरुलाई आग्रह समेत गर्नुभयो ।
ओलीले समृद्धिको खाकासहित सरकारको नीति तथा कार्यक्रम र बजेट आउने भएकाले यसलाई पास गराउने र कार्यान्वयन गर्ने गरी प्रस्तुत हुन पनि आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सन्तुलित छिमेक सम्बन्ध र राष्ट्रिय स्वाधिनताको जगमा भारत र चीनसँग सम्बन्ध विकास भइरहेको जनाउँदै आफू एक महिनापछि चीनको औपचारिक भ्रमणमा जाने तयारीमा रहेको जानकारी दिनुभयो ।
ओलीले वामपन्थीले जित्दा, सरकार बनाउँदा वा एकता हुँदा प्रतिपक्षी नेपाली काँग्रेस झस्कनु नपर्ने टिप्पणी गर्नुभयो ।
बैठकलाई सम्बोधन गर्दै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता सामान्य परिघटना नभई असाधारण रहेको बताउनुभएको छ ।
उहाँले एकता प्रक्रिया नेपालको मात्रै नभइ विश्वकै असाधारण घटना भएको बताउनुभयो ।
उहाँले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन र नयाँ परिस्थितिमा समाजवादको यात्रा तय गर्नका लागि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)को एकताले मार्ग प्रशस्त गरेको उल्लेख गर्नुभयो ।
दुई पार्टीको एकतापछि देश र विदेशबाट बधाईका सन्देश लगातार आइरहेको जानकारी दिँदै उहाँले विश्व समुदायले पनि नेपालको पछिल्लो राजनीतिक घटनालाई नजिकबाट नियालीरहेको उल्लेख गर्नुभयो ।