- पूर्णप्रसाद न्यौपाने ,,,
ओखलढुंगा,०४ जेठ :
नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले बाम एकताका विरुद्ध क्रान्तिकारी शक्तिहरुको एकता हुने बताउनु भएको छ ।
पुरानो राजसंस्थाको झल्को दिनेगरि राज्य सञ्चालनका लागि भारतको ईसारामा एमाले र माओवादीले पार्टी एकता गरेको भन्दै त्यसविरुद्ध आफुहरु उभिने उहाँले बताउनु भएको हो ।
उहाँले कम्युनिष्टहरुको धार फेरि एकपटक प्रस्ट भएकोले हाल क्रान्तिकारी धारमै रहेका पार्टीहरुबीच कार्यगत एकता र पार्टी एकताको प्रयास भइरहेको पनि उहाँले बताउनुभयो ।
शुक्रबार ओखलढुंगा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा नेता बैद्यले यस्तो अभिव्यक्ति दिनुभएको हो । मोहनविक्रम सिंहको नेकपा मसाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकताको लागि छलफल भइरहेको उहाँको भनाई छ ।
उहाँले एकताका नाममा माओवादी केन्द्र एमालेमा विलय भएको टिप्पणी पनि गर्नुभएको छ । उहाँले ‘जनयुद्ध’ र संसद्वका विरुद्ध अघि बढेको र संघर्षबाट उदाएको नेपाली कम्युनिष्ट आन्दोलनको एउटा शक्ति विभाजित भएर एमालेमा विलय भएको आरोप लगाउनुभयो ।
उहाँले जनयुद्धका एक नेता जेलमा र अर्का नेता सत्तामा हुनु दुखद् अवस्था भएको उल्लेख गर्नुभयो ।