- नमोबुद्ध संवाददाता,,,
काठमाण्डौं,०३ जेठ :
एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको हो । संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग भएको घोषणा गर्नुभयो ।
विहिबार साँझनै राष्ट्रियसभामा आयोजित औपचारिक कार्यक्रममा ९ सदस्यीय सचिवालय,४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा समेत गरिएको छ ।
दुई दलले उक्त पार्टी निर्वाचन आयोगका दर्ता गराएको छ । पार्टी एकतासँगै घोषणा गरिएको ९ सदस्यीय सचिवालय तथा आई कमाण्ड्समा दुवै पार्टीमा रहेका केही महत्वपूर्ण नेता पनि परेका छैनन ।
९ सदस्यीय समितिलेनै अब पार्टी सञ्चालन गर्नेछ । ९ सदस्यमा एमालेबाट ६ जना र माओवादीबाट ३ जनालाई राखिएको छ । सचिवालयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षका रुपमा रहनुभएको छ ।
समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल हुनुहुन्छ । माओवादी केन्द्रबाट प्रचण्ड बाहेक नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हुनुहुन्छ ।
विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । पौडेललाई एमाले अध्यक्ष ओलीको प्रस्तावमा जिम्मेवारी दिइएको हो ।
अब बन्ने स्थायी समितिमा पनि सचिवसम्मका नेता अटाउने एक नेताले जानकारी दिनुभयो ।
एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय बनाईएको छ । जसमा एमालेबाट २६ र माओवादीबाट १९ नेता हुनेछन् ।
केन्द्रीय कमिटीमा दुइ वटै दलमा रहेका केन्द्रीय सदस्य सबै पर्नेछन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय नेता छन् ।
मुलुकले बाँचुली फेर्ने दावी
राष्ट्रियसभामा विहिबार साँझ आयोजित औपचारिक घोषणा सभामा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई पार्टीको एकताले संसारमा सकारत्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले देशको विकास,भावी राजनीति तथा नेपाली जनताको भविष्यमाथि सकारात्मक दुरगामी असर पर्ने बताउनुभयो ।
उहाँले पार्टी एकतापछि अब मुलुकले काँचुली फेर्ने दावी गर्नुभयो । स्थीर राजनीतिमार्फत देशको सवृद्धिका लागिनै पार्टी एकता गरिएको अर्का अध्यक्ष प्रचण्डको भनाई छ ।
जनता ईतिहास र नेतृत्वको निर्माणकर्ता रहेको उल्लेख गर्दै उहाँले परिस्थितीअनुसार आफुहरुलाई जनताले फेरि नेता बनाएको उहाँको तर्क छ ।
मदन भण्डारी तथा जीवराज आश्रीत स्मृति दिवसको सन्दर्भ निकाल्दै उहाँले मदन भण्डारी जस्तै दुरदर्शी नेताको अभाव हुन नदिन अव यो अवसर आएको धारणा राख्नुभयो ।
केन्द्रीय सदस्यद्धारा सामूहिक सपथ
एमाले र माओवादी केन्द्रको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यले बालुवाटारमा सामुहिक सपथ लिएका छन् । सबैले एकैसाथ सपथ लिएका हुन् ।
त्यसअघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकाअर्कालाई सपथ गराउनुभएको थियो ।
दक्षिण एसियाकै ठूलो कम्युनिष्ट पार्टी
पुनर्गठित पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ दक्षिण एसियाकै ठूलो तथा एसियामा चीन र भियतनामपछि तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो चुनावमा नेपाल कम्युनिष्ट पार्टीले तीन चौथाई मत ल्याउने दावी पनि गर्नुभयो ।
कम्युनिष्ट पार्टीका लागि दुई तिहाइ बहुमत सामान्य भइसकेको उहाँको भनाई छ ।
खुसीयालीमा रात्रीभोज
एमाले र माओवादीको पार्टी एकताको खुसियालीमा विहिबार बालुवाटारमा रात्रीभोज आयोजना गरिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमानै रात्रीभोज आयोजना गरिएको छ ।
एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिनुभएको छ ।
एकतासँगै संघीय सरकारसँगै ६ वटा प्रदेशका सरकार एकल बहुमतको भएको छ ।