
- नमोबुद्ध संवाददाता,,,
काठमाण्डौं,०२ जेठ :
शीर्ष नेताहरुले निर्वाचनपछि चाँडै एकता हुने बताउँदै आए पनि मिति तय नहुँदा अन्योल देखिएको एमाले–माओवादी एकता प्रक्रिया अगाडी बढेको छ ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकता प्रक्रियालाई अघि बढाउन सहमत भएपछि अब यो प्रक्रियाले गति लिने देखिएको हो ।
वुधबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको दुई नेताको बैठकमा एकताको सहमति जुटेको हो ।
दुई नेताबीच तत्काल एकता संयोजन समितिको बैठक बोलाउने सहमति पनि जुटेको छ ।
दुई पार्टी बीचका वैचारिक र सांगठनिक कार्यदलहरुले दिएका प्रतिवेदनमा मिल्न बाँकी विषय मिलाएर एकता संयोजन समितिको बैठकमा प्रस्ताव ल्याउन एक महिना अघिको संयोजन समितिको बैठकले अध्यक्षद्वयलाई जिम्मेवारी दिएको थियो ।
दुई अध्यक्षबीचको वार्तामा तत्काल एकता संयोजन समितिको बैठक बस्ने गरि तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।