• नमोबुद्ध संवाददाता,,,

धुलिखेल,३१ बैशाख :
अन्ततगत्व विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उज्यालो सपनाले मुर्तरुप लिएको छ ।

प्राधिकरणको कार्यकारी पद सम्हालेयता निकै चुनौतीको सामाना गर्दै जनतालाई उज्यालो बाँड्न उहाँ सफल हुनुभएको हो ।

उहाँले सोमबारबाट मुलुक लोडसेडिङमुक्त भएको जानकारी दिदै खुसी व्यक्त गर्नुभयो । मुलुकका कुनै पनि भाग वा क्षेत्रमा अब लोडसेडिङ नहुने प्राधिकरणले स्पष्ट पारेको हो ।

देशभर केन्द्रीय प्रसारण लाइन र वैकल्पिक ऊर्जा गरी ६० प्रतिशत जनसङ्ख्यालाई बिजुली पुगेपनि ४० प्रतिशत जनसङ्ख्या स्थायी लोडसेडिङमा थिए ।

प्राधिकरणले दुई वर्षअघि धुलिखेल,भक्तपुर तथा काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरलाई लोडसेडिङमुक्त गरेको थियो ।

लोडसेडिङमुक्त तुल्याउन सकिनुका कारण खोलामा पानीको बहाव बृद्धि भएकाले नदीप्रवाही विद्युत् गृहबाट उत्पादन बढोत्तरी भएको, अर्ध जलाशयुक्त विद्युत्गृहको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग भारतबाट आयात जस्ता चुस्त दुरुस्त कार्य सम्पादन रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

औद्योगिक ग्राहकको माग तीन सय मेगावाटको हाराहारीमा रहेको पनि प्राधिकरणले जनाएको छ । कार्यकारी निर्देशक घिसिङले औद्योगिक क्षेत्रमा दैनिक तीन घण्टाका दरले गरिँदै आएको विद्युत् आपूर्ति कटौति पनि सोमबारबाट अन्त्य गरिने बताउनुभयो ।

कर्मचारीहरुको चरम लापरवाही र भ्रष्टाचारले डुवेको प्राधिकरणले अहिले नाफा पनि कमाउन थालेको बताईन्छ ।
कार्यकारी निर्देशक घिसिङले राजनीतिक तह तथा कर्मचारी तहबाटै आएको अरबौंको प्रलोभन अस्वीकार गर्नुभयो,कुनै पनि किसिमको धम्कीको सामाना गर्नुभयो,जनतालाई अँध्यारोमा राख्न चाहने राजनीति र काला कर्मचारीतन्त्रलाई परास्त गर्नुभयो ।
सुरुमा धुलिखेल,बनेपा तथा काठमाण्डौं उपत्यकालाई मात्र लोडसेडिङ मुक्त गर्दा दुनियाँले पत्याएका थिएनन् ।

उर्जा मन्त्रालय तथा विद्युत प्राधिकरणका कर्मचारीनै यो प्रयास असफल बनाई घिसिङलाई हाँसोको पात्र बनाउन लागि नपरेका हैनन् तर सकेनन् । काम नगरी उल्टै कमिसन मात्रै खाने,विजुली लुकाउने,चुहावट नियन्त्रण जस्ता व्यवस्थापन कार्यमा नजुट्ने कर्मचारीका असहयोगकका बिचनै विद्युतीय क्षेत्रका दक्ष ईन्जीनियर घिसिङले आफ्नो कुशल दक्षता प्रदर्शन गर्नुभयो,फस्वरुपमा मुलुक आज झिलीमिली भएको छ ।

जनतालाई विद्युत सेवामा सन्तुष्ट बनाउन सक्नु र प्राधिकरण करोडौं नाफामा जानु कार्यकारी निर्देशक घिसिङको जादुमयी काम हो भनि जनताबाट प्रशंसा भईरहेको छ ।

शक्ति पहुंचका भरमा भईरहेको विद्युत चुहावट,चोरीमा न्यनिकरण गर्नुका साथै प्राधिकरणभित्रका कुनियत बोक्ने कर्मचारी,भ्रष्टाचारीलाई प्रश्रय दिने राजनीतिक आवरणलाई चिर्दै घिसिङ अहिले जनताबाट सर्वत्र स्यावासी पाउने कर्मचारी हुनुहुन्छ ।

औपचारिक रुपमै मुलुकलाई सोमबार लोडसेडिङ मुक्त घोषणा गरिएपछि यसको अवसरमा गाउँदेखी शहरसम्म झिलीमिली बत्ती बाली खुसीयाली मनाईदैछ ।

यो उज्यालो अभियान सफल हुनुमा उहाँलाई पत्याउने कर्मचारी तथा उर्जा मन्त्रीको पनि निकै ठुलो देन रहेको घिसिङले बताउनुभयो ।

आफुलाई दिनरात नभनि निरन्तर लाग्न जनताको प्रशंसा र खवरदारीपुर्ण ढाडसले मुख्य काम गरेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !