
- नमोबुद्ध संवाददाता,,,
काठमाण्डौं,३० बैशाख :
प्रतिनिधिसभा नियमावली निर्माण प्रक्रिया अन्योलमा परेको छ । यही वैशाख २३ गते संसदमा टेबुल भएको नियमावली मस्यौदा संसद्को कार्यसूचीमा राखिएको छैन ।
प्रतिनिधिसभामा १० समिति राखिएकोप्रति प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको असन्तुष्टिका कारण नियमावली निर्माणको काम अघि बढ्न नसकेको हो ।
फौददारी अभियोगमा पक्राउ परेका सांसद र तीनवर्षभन्दा बढी कैद सजाय हुने कार्य गरेका सांसदलाई संसद् सदस्यबाट निलम्बन नहुने व्यवस्था भएकोमा पनि दलहरुबीच विवाद छ ।
सभामुख कृष्णबहादुर महराले नियमावलीमा राखिएको विवादित विषयबारे दलसँग छलफल गरेर टुङ्ग्याउने तयारी गर्नु भएको उहाँको नीजि सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलका अनुसार फौजदारी अभियोगमा पक्राउ परेका सांसद स्वतःनिलम्बन हुने व्यवस्था नराखेपछि नियमावली निर्माणको काम अघि बढ्न नसकेको हो ।
आगामी जेठ १ गतेभित्र नियमावली संसद्बाट पारित गर्ने तयारी भएको संयोजक पोखरेलको भनाई छ ।