• नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं,२९ बैशाख :
नेपालको दुईदिने राजकीय भ्रमण सकेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्किनुभएको छ । शुक्रबार बिहान पटना हुँदै नेपाल आउनुभएका मोदी शनिबार साँझ त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो ।

मोदीलाई विमानस्थलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले विदाई गर्नुभयो । शनिबार बिहान पशुपतिनाथको दर्शन र पूजाअर्चनापछि फर्कनु भएका मोदीलाई काठमाडौं महानगरपालिकाले एक विशेष समारोहको आयोजना गरी नागरिक अभिनन्दन गरेको थियो । नागरिक अभिनन्दन कार्यक्रमपछि मोदी सिधै विमानस्थल पुग्नुभएको थियो ।

स्वदेश फर्किदै गर्दा मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक भएको टुईट मार्फत उल्लेख गर्नु भएको छ । नेपाली जनतासँग जोडिन पाउनु आफ्नो लागि सुनौलो अवसर भएको भन्दै मोदीले न्यानो आतिथ्यताका लागि नेपाल सरकार र नेपाली नागरिकलाई धन्यवाद दिनुभएको छ ।

बिभिन्न दलका शीर्ष नेताहरुसंग भेटवार्ता

दुई दिने नेपाल भ्रमण सकेर स्वदेश फर्कनुअघि भारतीय प्रधानमन्त्री मोदी र विभिन्न राजनीतिक दलका शिर्षनेताहरुबिच शनिबारनै भेटवार्ता भयो । भेटका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको समस्या समाधानका लागि आवश्यक पहल गर्न भारतका प्रधानमन्त्री मोदीसँग आग्रह गर्नु भयो ।

प्रचण्डले सीमा, नाका समस्या, मधेसको डुबानको समस्या र वीराटनगरमा रहेको अस्थायी कार्यालय हटाउनुपर्ने छलफलका क्रममा उठाउनुभएको प्रचण्डको नीजि सचिवालयले जनाएको छ । बीजेपीका पूर्व सांसद कीर्ति आजादले दिएको अभिव्यक्ति नेपाल–भारत सम्बन्धको हितका विरुद्ध रहेको भन्दै उहाँले यस्तो भ्रामक र हानीकारक प्रचारको मोदीसँगको भेटमा भत्र्सना गर्नुभएको थियो ।

आजादले शुक्रबार ट्विट मार्फत जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई मिथिला क्षेत्र भारतको भएकाले फर्काउन भनेका थिए । मिथिला क्षेत्र नेपाल–अंग्रेजबीच सन्धि गरेर २ सय वर्षका लागि नेपाललाई दिइएको र त्यो समय सकिएकाले अब भारतले नै फिर्ता लिनुपर्ने आजादको तर्क थियो ।

प्रधानमन्त्री मोदीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग आजै सामूहिक भेटवार्ता गर्नु भएको छ । होटल हायतमा मोदीसँगको भेटमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र प्रकाशशरण महतको सहभागिता थियो ।

भेटमा सभापति देउवाले नेपाल भ्रमण गरेकोमा मोदीलाई धन्यवाद दिएको र मोदीले नेपाल भ्रमण सफल भएकोमा खुसी व्यक्त गरेको उपसभापति विमलेन्द्र निधिले बताउनुभयो । मोदी र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच पनि भेटवार्ता भएको छ । यादवले शिष्टाचार भेट भएकाले कुनै महत्वपूर्ण विषयमा छलफल नभएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !