- नमोबुद्ध संवाददाता,,,
धुलिखेल,२९ बैशाख :
यहाँहरु कोही वैदेशिक रोजगारमा हुनुहुन्छ या जान खोज्नुभएको छ ? प्रवासी माटोमा हुनुभएकालाई कामको शिलशिलामा केहि समस्या परेको हुनसक्छ अनि जान चाहनेहरुका मनमा भविष्यको विषयमा घोत्लीदै कुन मुलुकमा जाने ? केका लागि जाने,के गर्ने,कत्ति खर्च,आम्दानी र वचत हुन्छ भन्ने प्रश्नहरु अवश्य उब्जिएका हुन सक्छन् ।
प्रवास पुगेका र जाने यि दुई मनलाई यि प्रक्रियाबारे सबै जानकारी दिई सचेत गराउने नजिकको साथी बन्न सक्छ “प्रवासीको साथ” ।
यो मोवाईल एप्लिकेशन हो , यसलाई विश्व शिक्षाको सहयोगमा पौरखी नेपालले सञ्चालनमा ल्याएको हो । यसबारे उसले शुक्रबार धुलिखेलमा एक अन्तरक्रिया कार्यक्रममार्फत औपचारिक जानकारी दिएको हो ।
यो एप्लीकेशन वैदेशिक रोजगारमा जानेहरुको खर्च,आम्दानी र वचतलाई व्यवस्थापन गर्न निकै सहयोगी बन्ने पौरखी संस्थाका कार्यक्रम संयोजक सन्दिप न्यौपानेले दावी गर्नुभयो ।
वैदेशिक रोजगारमा जान चाहनेहरुमा देखिने अष्पष्टता र तिनका कारण निम्तीएका समस्या, प्रवासमा रहेका नेपालीहरुले भोगेका पिडालाई दृष्टिगत गरी यि दुई अवस्थाका उनिहरुलाई लक्षित गरी सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
यो एप्लीकेशन दुई वर्ष अगाडी काभ्रेको पाँचखाल तिनपिप्लेका युवाहरुमा परीक्षण गरी औपचारिक रुपमा प्रयोगमा आईसकेको बताईन्छ ।
यो एप्लीकेशन वैदेशिक रोजगारका लागि नेपालीहरुको मुख्य गन्तव्य मानिएका विभिन्न ६ मुलुकमा जाने नेपालीका लागि बढि उपयोगी हुने जानकारी दिदै संयोजक न्यौपानेले भन्नुभयो –“एप्लिकेशनबाट मुख्यगरी ओमन,कतार,कुवेत,मलेसिया,युनाईटेड अरव इमिरेट्स र साउदी अरेविया जाने ग्रामिण भेगसम्मका नेपालीहरु लाभान्वीत हुनसक्छन्, पछि हामी युरोप,अफ्रिका तथा अमेरिकी देशहरुलाई पनि अपडेट गर्दै जानेछौं ।”
यो एप्लीकेशन अहिले पहाडदेखी तराईसम्मका युवाहरुले प्रयोग गर्न थालिसकेको उहाँले जानकारी दिनुभयो ।यसमा वैदेशिक रोजगारमा जाने र गएकाहरुका लागि आवश्यक सुचनाहरु राखिएका छन् ।
ईन्टरनेट सुविधाको एन्ड्रोइड भर्सनको मोवाईलमा प्लेस्टोर र आईफोनमा एपस्टोरमा गई PRABASI KO SAATH खोजी गर्दा यो एप फेला पार्न सक्छौं र डाउनलोड गरी ईन्स्टल गरिएपछि सिधै खोल्न सकिन्छ ।
भित्र विदेश जाने तयारी,प्रस्थान गर्नु अघि र विदेशमा हुदा गरी तीन भागलाई पार गरेपछि अन्तमा यो एपले आर्थिक विश्लेषण गर्दछ । वैदेशिक रोजगारमा जाँदाका प्रक्रियाबारे जानकारी दिन्छ र यसलाई एउटा निर्देशिकाको रुपमा प्रयोग गर्न सक्दछौं ।
यो एपलाई वैदेशिक रोजगारमा जानेहरुलाई ठगिनबाट सचेत गराउन,प्रवासमा गर्ने काम र उक्त देशको परिस्थीतिसंग घुलमिल गराई वैदेशिक रोजगारबाट आधिकतम उपलब्धी हासील गर्न सहजिकरण गर्ने माध्यमको रुपमा प्रयोगमा आउने विश्व शिक्षाको विश्वास छ ।