• नमोबुद्ध संवाददाता

जनकपुर,१० बैशाख :
संघीय सरकारले विशेष त आदीवासी समुदायको पर्वलाई मान्यता नदिने गलत मनसायका साथ सार्वजनिक विदा कतौती गरेको भन्दै आन्दोलन भईरहेको बेला प्रदेश २ ले गतिलो पाठ दिएको छ ।
प्रदेश २ ले संघिय सरकारले तोकेबाहेकनै थप आठ दिन सार्वजनिक बिदाको व्यवस्था गर्ने भएको छ । उसले आफ्नो क्षेत्रमा मनाइने विभिन्न मौलिक पर्व र दिवसलाई प्रोत्साहन दिने भएको छ । त्यसका लागि ति पर्वमा प्रदेश सरकारले बिदा दिने निर्णय नै गरेको छ ।

प्रदेश सरकारको सो निर्णयबमोजिम वैशाख ११ गते जनकपुरमा मनाइने जानकी नवमीको बिदा हुने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रशासन महाशाखाका उपसचिव रोहित दाहालका अनुसार छठपर्व र होलीमा दुई–दुई दिन सार्वजनिक बिदा हुनेछ । छठपर्व र फागुपूर्णिमामा बिदा दिने संघीय सरकारको पनि निर्णय छ । प्रदेश सरकारले दुवै पर्वको अघिल्लो दिन पनि बिदा दिने निर्णय गरेको दाहालले बताउनुभयो ।

जानकी नवमी, जनैपूर्णिमा, विवाहपञ्चमी र रामनवमीमा बिदा दिइनेछ । मधेश आन्दोलन स्मृति दिवस माघ ५ गते पनि सार्वजनिक बिदा दिने निर्णय भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार इस्लाम धर्मावलम्बीले मनाउने पैगम्बर हजरत मोहम्मद सल्लाहु वलैहे वसमको जन्मदिन (वारह रविउल्ल औयल)को दिन पनि बिदा दिइने बताइएको छ । जसले गर्दा मौलिक पर्वको प्रवद्र्धनमा टेवा पुग्नेछ ।

यो निर्णयसंगै सदियौंसम्म केन्द्र राज्यको दमनबाट निसासिएका मधेसका जनताले अलिकति भएपनि आफ्नो प्रदेश सरकारप्रति अपनत्व महसुस गरेका छन् । प्रदेश २ को यो निर्णयबाट नेपालका अन्य ६ वटा प्रदेशले पनि केहि सन्देश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस !