- नमोबुद्ध संवाददाता
बनेपा,०९ बैशाख :
“सबैका लागि योग,संधैका लागि योग” भन्ने नाराका साथ शनिबार काभ्रेको बनेपामा सुरु भएको प्रथम उपत्यकाव्यापी योग खेलकुद प्रतियोगिता आईतबार सम्पन्न भएको छ । प्रतियोगिताका विजेताहरुलाई युवा तथा खेलकुदमन्त्री जगत बहादुर विश्वकर्माले मेडल,प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभयो । सोही क्रममा उहाँले योग खेलकुदलाई राज्यले पनि नदेखेको नौलो,योग विज्ञान र मानव स्वास्थ्यसंग जोडिएको भन्दै यस प्रतियोगिताको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो ‐“तपोभुमि नेपाल हो, अनेकौं ऋषिहरुले तपश्या गरे,ज्ञान प्राप्त गरे,महामानव सिदार्थ गौतमले पनि योग साधनाको माध्यमबाटै ज्ञान प्राप्त गर्नुभयो,आज यसलाई नयाँ ढंगबाट मानवजातीमा विकास गर्न योग खेलकुदको माध्यम अपनाउदैछौं,यसमा सरकार खुसी व्यक्त गर्दछ ।”
सरकार भौतिक विकासमा भन्दा पनि नागरिकलाई शारीरि र मानसिक रुपमा स्वस्थ राख्न लाग्नुपर्नेमा जोड दिदै मन्त्री विश्वकर्माले राज्यले योग खेलकुदको क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँको धारणा छ–“यदि नागरिकलाई योगद्धारा स्वस्थ राख्न सके संयौ अस्पतालहरु खोल्नै परेन,यसतर्फ स्वास्थ्य मन्त्रालयको पनि ध्यान जाओस्”
उहाँले योग खेलकुदको विकासमार्फत नेपालको अन्तराष्ट्रिय पहिचान अभिवृद्धि गर्न सकिने विचार व्यक्त गर्नुभयो । साथै उहाँले योग खेलकुदलाई ओलम्पीक खेलमा समावेश गर्न पहल थाल्नुपर्ने बताउनुभयो । त्यस्तै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले योग अपनाउँदा थला परेका र कुँजिएका वृद्धवृद्धाहरु समेत हिन्न सक्ने भन्दै योग खेलकुदलाई विकास गर्न सके बालबालिका,युवा पुस्ता सबै लाभान्वित हुने दावी गर्नुभयो ।
प्रथम उपत्यकाव्यापि योग खेलकुद प्रतियोगितामा ११–१७ उमेर समुहका महिला पुरुष,१८–४९ उमेर समुहका महिला पुरुष,५० वर्षदेखी माथि उमेर समुहका महिला पुरुष एकल र सामुहिक रुपमा प्रतिस्पर्धामा उत्रेका थिए ।
जसमा ११–१७ उमेर समुहतर्फ पुरुषमा किरण न्यौपाने प्रथम,कविराज दंगाल दृतीय र सत्य घिमिरे तृतीय भएका छन् । यही उमेर समुहमा महिलातर्फ करिष्मा घिमिरे प्रथम,तुलसी महासेठ दृतीय र स्मृती सापकोटा तृतीय भएका छन् । १८–४९ उमेर समुहमा पुरुषतर्फ गम्भीर श्रेष्ठ प्रथम,महेन्द्र राई दृतीय र प्रवास थापा मगर तृतीय भए । यहि उमेर समुहमा महिलातर्फ रमा कार्की प्रथम,निशा श्रेष्ठ दृतीय र शोभा शर्मा तृतीय भएका छन् । ५० वर्ष माथि उमेर समुहमा कृष्ण प्रसाद वराल र अष्टलक्ष्मी श्रेष्ठ पुरस्कृत भएका छन् ।
त्यस्तै ११–१७ उमेर समुहको सामुहिक प्रतिस्पर्धातर्फ पुरुषमा सत्य घिमिरे,मनिष श्रेष्ठ र विजय जिसीको समुह प्रथम,किरण न्यौपाने,कविराज दंगाल र प्रशन्न श्रेष्ठको टोली दृतीय र चीरज्जीवी कार्की,नविन गौतम तथा डार्विन आचार्यको समुह तृतीय भएका छन् । यहि उमेर समुहतर्फ महिलामा करिष्मा घिमिरे,सपना महासेठ र तुलसी महासेठको समुह प्रथम,प्रक्रुजा घोरासईनी,श्रुती सापकोटा,विष्णुमाया तामाङ र स्मृती सापकोटाको टोली दृतीय भएको तथा कल्पना पोखरेल र महिमा श्रेष्ठको समुह तृतीय भएका छन् ।
त्यस्तै १८–४९ उमेर समुहमा पुरुषतर्फ महेन्द्र राई,न्होच्छेराम मानन्धर र प्रकाश थापा मगरको टोली प्रथम भएको छ । गणेश गैरे,विनोदकुमार सिं र अशोक सिंको समुह दृतीय तथा अर्जुन भुषाल, गम्भीर श्रेष्ठ र प्रविण श्रेष्ठको टोली तृतीय भए । महिला तर्फ रमा कार्की,अम्बिका पोखरेल र लक्ष्मी भण्डारीको समुह प्रथम भएको छ भने निशा श्रेष्ठ,स्मृती महाराजन र शोभा शर्माको टोली दृतीय भएको छ । यसैगरी मनिषा वराल,शोभा नकर्मी ,ईश्वरी श्रेष्ठ र मैया मगरको समुहले तृतीय स्थान हासीले गरेको छ ।
प्रतियोगिताबाट दुई उत्कृष्ठ खेलाडी पनि छनौट गरिएको छ । जसलाई भ्याली योगी र भ्याली योगीनी घोषणा गरियो । भ्याली योगीका रुपमा किरण न्यौपाने र भ्याली योगीनीको रुपमा करिष्मा घिमिरेलाई घोषणा गरियो । भ्याली योगी र भ्याली योगीनी घोषित दुई उत्कृष्ट खेलाडी भने यहि वैशाख २१,२२ र २३ मा पोखरामा हुने दक्षिण एसियाली योग च्याम्पीयनसीप प्रतियोगितामा सहभागि हुन पाउने आयोजक योग खेलकुद विकास संघ काभ्रेका अध्यक्ष पुर्णचन्द्र सिग्देलले जानकारी दिनुभयो । प्रतियोगितामा काभ्रेपलाञ्चोक सहित काठमाण्डौं उपत्यकाका तीन जिल्ला काठमाण्डौं,ललितपुर र भक्तपुरका खेलाडीहरु सहभागि थिए ।