
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०८ बैशाख :
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट विरुद्ध भ्रम छर्ने काम भइरहेको आरोप लगाउनुभएको छ । चुनाबबाट जनताले कम्युनिष्ट पार्टीलाई अपनाउन खोज्दा पनि तिरस्कार गराउने षड्यन्त्र भइरहेको उहाँको भनाई छ ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले र माओवादीले संयुक्त रुपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमा पनि कम्युनिष्टहरु मिल्न खोज्दा अनेक गरेर छिन्नभिन्न पार्ने काम गरेको स्मरण गराउँदै माओवादी एमाले एकतालाई अब कसैले रोक्न नसक्ने बताउनुभयो ।
आफूहरु मिल्न नसके जनताको चाहना पूरा नहुने र अरुले फाईदा लिने भएकाले अब कुनै हालतमा छुटिट्ने कुरा गर्न नसकिने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी एकताबाट दायाँबायाँ गर्ने छुट नभएको बताउनुभएको छ । प्रचण्डले आफूहरु पार्टी एकता घोषणा नजिक रहेको बताउनुभयो । बिभिन्न कारणबस पार्टी एकतामा केही ढिलाइ भएपनि कुनै हालतमा पार्टी एकता हुने कुरालाई सुनिश्चित गर्न पनि आईतबार संयुक्त कार्यक्रम गरेको प्रचण्डको भनाइ थियो ।
पार्टी एकता प्रक्रियामा केही नबिग्रिएको भन्दै उहाँले नतोकिएको दिन पार्टी एकता हुने र यसलाई कसैले रोक्न नसक्ने बताउनुभयो । संगठन, नीति लगायतका विषयमा निष्कर्षतिर पुगेको र शनिबार मात्र केपी ओली र आफूले संगठनात्मक एकताको मोडालिटीबारे सहमति जुटाएको बताउनुभयो । उहाँका अनुसार सम्मानजनक एकता, समानताको सिद्धान्त र न्यायोचित एकता, संगठनात्मक एकता गरि एकताका तीन आधार तयार गरिएको छ ।