• नमोबुद्ध संवाददाता

काठमाण्डौं,०४ बैशाख :
एमाले माओवादी पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले उत्साहजनक निर्णय गर्न सकेन । बैठक निश्कर्षविहिननै सकियो भन्न सकिन्छ । लामो समयपछि बसेको बैठकले विवादित विषय टुङ्ग्याई नेपाल कम्यनिष्ट पार्टी स्थापना दिवसको अवसरमा बैशाख ९ वा १० गते औपचारिक रुपमा पार्टी एकता घोषणा गर्ने निर्णय गर्ला भन्ने अपेक्षा पार्टी कार्यकर्ताहरुको थियो । तर एकता संयोजन समितिले ति निर्णय गर्न सकेन र पार्टी एकतामा देखिएको विवाद मिलाउने जिम्मा दुवै पार्टीका अध्यक्षलाई दिएको छ ।

पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्र बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने बिषयमा भने समझदारी भएको बताईएको छ तर यसबारे पनि कोही नेताहरुले खुलेर बोलेका छैनन् । “बाँकी विवाद मिलाउने जिम्मा अब अध्यक्षलाई दिएका छौं ।”‐ रक्षामन्त्री तथा एमालेका महासचिव एवं संयोजन समितिका सदस्य र्ईश्वर पोखरेलले भन्नुभयो‐“एकताका लागि ठूलो विवाद खासै छैन ।” दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो सातानै प्रतिवेदन बुझाएको थियो ।

दुवै पार्टीका नेताहरुले सार्वजनिकरुपमा अधिकांश विषयमा सहमति भइसकेको दावी गरेपनि पार्टी एकताका लागि महत्वपूर्ण विषयमा अझै सहमति हुन सकेको छैन । जुन मुख्य विषय हुन् ति विषयनै मिल्न बाँकी देखिन्छ । एकीकृत पार्टीको नेतृत्व सञ्चालन कार्यविधि पनि तय भएको छैन । जनयुद्धको विश्लेषण, सांगठनिक अनुपात तथा भागबण्डामै अल्झीएको छ पार्टी एकता ।

माओवादी अध्यक्ष प्रचण्ड पछिल्ला समय एमाले पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति पनि असन्तुष्ट देखिनुुहुन्छ । सरकारमा एकलौटी ढंगले अघि बढेको आरोप छ प्रचण्डको । मंगलबारको बैठकमै उहाँले एकतापछिको पार्टीमा दुईवटा अध्यक्ष बनाएपनि एउटा कार्यकारी, अर्को सेरेमोनियल त हुँने हैन ? भन्ने प्रश्न गर्नुभयो ।

दुई पार्टीबीच सांगठनिक संरचनाको अनुपातको विषय झन उत्तिकै जटिल बन्दै गएको छ ।कार्यदलमा एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय बनाउनेमा सहमति भएको छ तर पनि कुन पार्टीबाट कतिजना रहने भन्नेमा मिलेको छैन । माओवदी ५०–५० प्रतिशतको अडानमा छ । एमाले सांगठनिक संरचना ७०–३० को अनुपातमा हुनुपर्ने अडानमा छ ।

यि विवादित विषयलाई शीर्ष नेता सम्मिलित एकता संयोजन समितिले टुंग्याउन नसकेको हो । अब वैशाख ९ वा १० गते गर्ने भनिएको दुई पार्टी एकता घोषणा लगभग टरेको बताईन्छ । एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ कार्यदलले पेस गरेको प्रतिवेदन टुंगो लगाउन अब समय अपुग हुने बताउनुहुन्छ । दुई पार्टीका अध्यक्षहरुले आपसी छलफलबाट रातारात सहमतिको निर्णय नगरे अब वैशाख ९ वा १० गते गर्ने भनिएको दुई पार्टी एकता घोषणा पछि धकेलिने निश्चत छ ।

प्रतिक्रिया दिनुहोस !