- नमोबुद्ध संवाददाता
धुलिखेल,०४ वैशाख :
नयाँवर्ष २०७५ सालको सुरुवातमा उल्लासका साथ जिल्लाको दुई महोत्सव “दोलालघाट महोत्सव” र “धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव” सकिएको छ । नयाँ वर्षको आगमनलाई लक्षित गरि आयोजित यि महोत्सवमा हजारौं सहभागि भए । आन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल देखियो ।
जिल्लाको दोलालघाट,धुलिखेल,नगरकोट,तेमाल,पनौती जस्ता क्षेत्र प्राकृतिक रुपमा पनि पर्यटकको मन तान्ने थलो हुन् । झनै यो पटक ११ दिनसम्म चलेको “दोलालघाट महोत्सव” र २ दिन चलेको “धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव”ले स्थानिय कला संस्कृति एवम् पर्यटन प्रवद्र्धनमा बल पुग्यो ।
ति दिन यि ठाउँहरुमा आउनेहरुले घुमघामका साथै साँगीतिक मजा र मिठामिठा खानाका स्वाद लिने मौका पाए । “धुलिखेल पर्यटन मेला”मा स्थानिय नेवारी तथा तामाङ संस्कृतिको अवलोकनका साथै मौलिक खानाको व्यवस्था गर्नु केहि नौलो देखियो भने “दोलालघाट महोत्सव”ले पनि केहि नयाँपन दिन खोजेको पाईयो । “दोलालघाट महोत्सव”मा २०७५को पुर्वसन्ध्यामा शुक्रबार राती पाटनबाट चर्चित “द रोयल नेपाल व्याण्ड” लाई निम्त्याई “न्यु ईयर ईभ तथा डिजे पार्टी”को आयोजना गर्यो जसले युवा पंक्तिको मन तान्यो ।
१ महिना अगाडीमात्रै काभ्रे महोत्सव आयोजना गरिएकोले यि दुई महोत्सवमा अवलोकनकर्ता खासै नहोला भन्ने चिन्ता थियो आयोजकलाई । भनेकै जस्तो र चाहेकै जस्तो स्टलहरु नदेखिएपनि यसरी आ–आफ्नो विशेषतामार्फत आयोजकले दर्शकको मन तान्ने प्रयास भने गरे । हजारौं दर्शकहरुको साथ पाए यि दुई महोसवले । जसले गर्दा फेरि फेरि यस्ता महोत्सव गर्ने जोश थपिएको “दोलालघाट महोत्सव”का आयोजक दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवका अध्यक्ष अष्ट श्रेष्ठले बताउनुभयो ।
यो पटक पर्यटकहरुले दोलाघाटका सबै होटलहरु भरिभराउ थिए । “प्राकृतिक,साँस्कृतिक,कृषि र व्यापार,दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार” भन्ने नाराका साथ आयोजित महोत्सवमा आउनेहरुले सुनकोशीमा रयाफ्टिङ (बोटिड्ड) को मज्जा लिए । साथै हेलिकप्टरबाट विभिन्न प्राकृतिक सुन्दरता र धार्मिक स्थलहरुको अवलोकन गर्ने व्यवस्था समेत गरिएको थियो । महोत्सवमा अन्य आकर्षणका रुपमा उद्योग÷व्यापार स्टलहरु , बाल उद्यान रमाइलो मेला, चमेना गृह, स्वास्थ्य शिविर,कृषि प्रदर्शनी , सांस्कृतिक कार्यक्रम,नृत्य प्रतियोगिता लगायत पनि समावेश थिए । महोत्सवमा सहभागिहरुले राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रश्तुतीमार्फत मनोरञ्जन पाए ।
“धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव”
त्यस्तै जिल्ला सदमुकाममा ३० र नयाँ वर्ष २०७५ को १ गते गरी दुई दिन “धुलिखेल पर्यटन मेला तथा खाना महोत्सव” चल्यो । सरस्वती वजारदेखी धुलिखेल अस्पतालचोकसम्मका भित्रि बजार यहाँका मौलिक खानपान राखेका स्टलहरुले भरिएका थिए । स्थानिय महिला समुह,युवा क्लव,होटलहरुले समेत नेवारी समुदायको योमरी,चटामरी,छोईला,कचेला,प्याजको अचार,अण्डा,रोटी,रक्सी जस्ता मौलिक खानेकुराले पर्यटकहरुलाई स्वागत गरे ।
“संवृद्ध धुलिखेलको लागि पर्यटन,शिक्षा,स्वास्थ्य,व्यापार र आवास” भन्ने धुलिखेल नगरपालिको दुरदृष्टि अनुसार स्थानिय पुरानो वजारको अस्तीत्व उजागर गर्न यस्तो महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष श्रवणकुमार तखाछेंले बताउनुभयो । धुलिखेलको भित्रि बजारको प्रवद्र्धनमार्फत पर्यटनको विकास गरे स्थानियको आर्थिक वृद्धि विकासमा सघाउ पुग्ने आयोजको भनाई छ ।
महोत्सवमा आउनेले धुलिखेलमा रहेको हजार सिंढी,देवीस्थान डाँडा जस्ता प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्थलका साथै घना वनको बिचमा अवस्थीत वुद्धको मुर्ति,सिद्धिनारायण,भगवती,कालि मन्दिर जस्ता धार्मिक स्थलहरुको पनि अवलोकन गरे । यस्ता महोत्सवहरु भोलीका दिनमा पनि गर्ने योजना सुनाउदै अध्यक्ष तखाछेंले भन्नुभयो–“ हामीलाई उत्साह थपिएको छ,भोलीका दिनहरुमा पनि यसलाई निरन्तरता दिनेछौं ।