- सेम्ह्रो फुलमान मोक्तान
ईन्द्रावती,०३ बैशाख :
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले आयोजना गरेको प्रथम इन्द्रावती महोत्सव तथा प्रथम अध्यक्ष कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ऐसेलुखर्क मैदानमा आयोजित महोत्सव तथा फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथीका रुपमा आउनुभएका प्रदेश नम्बर ३ कि प्रमुख अनुराधा कोइरालाले लोक दोहोरीमा पुरस्कृत समुहलाई पुरस्कारका साथै विभिन्न कलाकारहरुलाई कदर पत्र बितरण गर्नुभयो ।
अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा इन्द्रावती ८ मिलनचोक, इन्द्रावती ११ बोटगाउँलाई २–० गोलको अन्तरले पराजित गर्दै उपाधी कब्जा गर्न सफल भएको हो । उसले जित संगै नगद ५० हजार ५ सय, अध्यक्ष कप ,मेडल र प्रमाणपत्र पायो । दोस्रो हुन सफल इन्द्रावती ११ ले ३५ हजार ५ सय नगदसहित शिल्ड मेडल प्रमाणपत्र,तेस्रो हुन सफल इन्द्रावती ६ बाडेगाउँले २० हजार ५ सय नगदसहित शिल्ड मेडल प्रमाणपत्र र सान्त्वना हुन सफल इन्द्रावती १० भोटसिपाले नगद १० हजार सहित कप मेडल तथा प्रमाणपत्र पाए ।
त्यस्तै लोकदोहोरी प्रतियोगितातर्फ इन्द्रावती ५ ले प्रथम स्थान कब्जा गरेको थियो । प्रतियोगितामा चार समुह सहभागि थिए । लोकदोहोरीमा झुम्ने दर्शकहरु धेरै थिए । कलाकारहरु भिम तामाङ ,हरि थापा,स्मृति गौतम,उमा श्रेष्ठ,भिमसेन खतिवडा ,रमिला न्यौपाने,कल्पना दहालका साथै स्थानीय कलाकारहरुको पनि बाक्लो उपस्थिति थियो ।
पुरस्कार तथा सम्मान वितरणपछि प्रमुख अतिथी कोइरालाले स्थानिय बस्तु प्रवद्र्धनका लागि गरिएको महोत्सवको प्रशंसा गर्नुभयो । शैक्षिक विकासविना कला संस्कृति,स्थानिय बस्तुको प्रवद्र्धन र उद्योगधन्दा फस्टाउन नसकिने धारणा राख्दै उहाँले बालबालिकाहरुलाई शिक्षामा जोड दिएमात्रै देश विकासमा लम्किन सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो –“सरकारले शिक्षा निशुल्क भन्ने गर्छ तर यहाँ निशुल्का भएको छैन,स्कुलमा जान ड्रेस,जुत्ता किन्नु पर्ने हुन्छ ,अब व्यवहारमै निशुल्क हुनपर्छ र अभिभावकले पनि बालबालिकालाई शिक्षामा विभेद गर्नुहुन्न ।”
स्थानीय स्तरमै उत्पादन भएका बस्तुहरु चिनाउने साथै पर्यटन,उद्योग धन्दा प्रवद्र्धन गर्ने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वङशलाल तामाङले बताउनुभयो । “दिगो बिकास र सुशासनको लहर,इन्द्रावती गाउँपालिकाको रहर” भन्ने नाराका साथ चैत २८ देखि बैशाख २ सम्म महोत्सव तथा अध्यक्ष कप सन्चालन गरिएको हो ।