
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०२ बैशाख :
सामान्य प्रसाशन,संघिय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई दिने भनिएको स्वेच्छिक अवकासको निर्णय अहिलेका लागि स्थगित भइसकेको स्पष्ट पार्नुभएको छ । उहाँले कर्मचारीहरुलाई अब काममा फर्किने निर्णय गर्न सुझाब दिनुभएको छ ।
मन्त्री पण्डितले धेरै सेवा सुविधा पाइन्छ भन्ने आशामा स्वेच्छिक अवकासका लागि निवेदन दिएको भए काम गर्न सुझाब दिनुभएको हो । सरकारले स्वेच्छिक अवकासको निर्णय स्थगित गरे कर्मचारी अदालत जाने भन्ने कुराप्रति संकेत गर्दै मन्त्री पण्डितले अदालत जाने कुरा नागरिकको स्वतन्त्रताको कुरा भएको बताउनुभयो ।
“अर्को निर्णय नभएसम्म स्वेच्छिक अवकास दिने निर्णय स्थगित गरिएको छ । खटाइएको ठाउँमा जानै पर्छ । काम गर्नतिर मन फर्काउनुस् । नत्र अवकाशको बाटोमा जाने निर्णय गर्नुस्” मन्त्री पण्डितले भन्नुभयो । १५ दिने सुचना निकालेर कर्मचारीलाई पुनः काममा फर्किनका लागि आवेदन दिने मौका दिइने मन्त्री पण्डितले जानकारी दिनुभयो ।