- नमोबुद्ध संवाददाता
बनेपा,०२ बैशाख :
काभ्रे क्षेत्र नम्बर १ बाट निर्वाचित संघिय सांसद गंगावहादुर दोङ(वमध्वज)ले सवृद्ध नेपाल निर्माण भने जस्तो सजिलो नरहेको बताउनुभएको छ । उहाँले देशका युवालाई “सुखी जनता सवृद्ध नेपाल” निर्माणका लागि आ–आफ्नो सिप क्षमता अनुसारको कर्ममा संलग्न हुने वातावरण नरहेपनि सम्भावनाको खोजी आफैंबाट गर्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ वर्ष २०७५ को अवसरमा आईतबार योङ कम्युनिष्ट लिग(वाईसिएल)ले आयोजना गरेको “चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम”मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य समेत रहेका वमध्वजले युवाहरु अब विदेशमा भन्दा आफ्नै गाउँ निर्माणमा जुट्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो–“हामी युवाहरु बनेपा,काठमाण्डौं र अरवका खाडीमा काम खोज्दै भौंतारिरहेका छौं तर गाउँ सुन्ने हुदैछ,गाउँ कसले बनाउँछ ?”
पानीको हाहाकार भई भुकम्पले ध्वस्त घर बनाउन नसकेको र मानववस्तीनै विस्थापित हुने अवस्थामा पुगेको तेमाल क्षेत्रमा एक वर्षभित्र पानी पुर्याउने लक्ष्य लिएको बताउँदै सांसद वमध्वजले यसमा साथ दिन आह्वान गर्नुभयो ।
वाढी पहिरोले सडक अवरुद्ध हुदा कोसीपारीका जनता यातायात सञ्जालबाट विच्छेद हुने अबस्थाको अन्त्य गर्न कोसीपारी क्षेत्रमा सडक स्तर उन्नतीका लागि ९० करोडको काम हुन लागेको,डाँडापारी क्षेत्रमा दुई स्थानबाट सडक छिचोल्ने काम अघि बढेको जानकारी दिदै उहाँले यसमा युवा संलग्नताको अपेक्षा गर्नुभयो ।
उहाँले खोपासी‐तालढुगां (२०० किलोमिटर) सडक खण्ड यो आर्थिक वर्षमा नै पुरा हुने र चौकीडाँडा‐सिपाली‐बुढाखानी‐बनखु‐घर्तीछाप हुदै गोकुले जोड्ने सडक खण्डलाई पनि तत्काल सुचारु गर्ने योजना सुनाउनुभयो ।
भुकम्पपछिको पुननिर्माण र सरकारले अघि सारेका विभिन्न विकासका काममा स्थानिय जनशक्ति पाउनै मुस्कील परेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो– “हामी विकासकै चरणमा छौं तर दुखको कुरा,सबै मान्छे शहर अनि विदेश पलायन हुदै छन् ,गाउँमा काम गर्ने मान्छे छैनन्,हुदा हुदा लास बोक्ने मान्छे नहोला भन्ने चिन्ता छ ।”
“चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम”मा नेकपा एमालेका जिल्ला उपसचिव ईन्द्रवहादुर तामाङले पनि निराशा र चिन्ताको कुरा गरिरहनुभन्दा आफैं कुनै न कुनै कर्ममा लाग्नुपर्ने बताउनुभयो । उहाँले २०७५ सालभित्र आफु कुनै उद्योग वा व्यवसायमा संलग्न भएर पार्टीका युवा पङ्क्तिलाई उदाहरण दिने उद्घोष समेत गर्नुभयो ।
वाईसिएलका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ र सचिव प्रदिप लामाले युवा परिवर्तनको संवाहक रहेको बताउँदै राजनीतिक परिवर्तनमा मात्रै नभई देश निर्माणमा पनि युवाको मुख्य भुमिका रहने धारणा राख्नुभयो । यिनै सकारात्मक सन्देश प्रवाह गर्न चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको वाइसिएल ईन्चार्ज अविलाषको भनाई छ ।