- नमोबुद्ध संवाददाता
काठमाण्डौं,३० चैत :
गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ । सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने लगायतका गुनासो आएपछि मन्त्रालयले शुक्रबार त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी त्यसको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो ।
यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३ सय १५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । बहालवाला अति विशिष्ट एवं पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ ।
गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । यस्तै सशस्त्र प्रहरी बलका पनि करीब ५ सय सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन्।
उनीहरुमध्ये केहीलाई घरेलु कामदारका रुपमा समेत प्रयोग गरिराखिएको गुनासो आउने गरेको छ । सुरक्षाबाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको छ ।
अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ।
सुरक्षामा खट्नुपर्ने सुरक्षाकर्मी हाकिम एवं उच्चपदस्थकहाँ घरेलु कामदारको रूपमा रहँदा राज्यले उनीहरूका लागि लगानी गरेको करडौं रुपैयाँ खेर गइरहेको भन्दै प्रधानमन्त्री कार्यालयका सचिवहरूले के समय अघि प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका थिए।