• सृजना लामा

दोलालघाट,३० चैत :
दोलालघाट महोत्सवको आठौं दिन अर्थात नयाँ वर्ष २०७५ को पूर्वसन्ध्यामा आन्तरिक तथा वाह्य पर्यटकहरुको आगमन त बढेकै छ । यहि वेला काँठ क्षेत्रका चर्चित गायक भोजारज काफ्ले र पप गायिका सरस्वती लामाको प्रश्तुतीले शुक्रबबार साँगीतिक गर्मी पनि बढाईदियो । यी दुईले साँगीतक हंगामा मच्चाए,दर्शकले २०७४ को अन्तिम दिन मनोरञ्जनको साथ पाए ।

गायक काफ्लेले हजारौं दर्शकलाई गीतमार्फत एकै पटक बोत्तलको पानी अनि गायिका सरस्वती लामाले उर्वशीको अवतारमा उहि नशालु हाउभाउका साथ “उडी जाने हावा”मार्फत दर्शकदिर्घालाई वैंशालु माया बाँडे ।

“बोत्तलको पानीले,ए हुलाकी दाई,हाम्रो घरको चुलो बलेन,काभ्रेपलाञ्चोक” जस्ता गीतले दर्शक स्रोताको आत्मीयता पाईरहेका गायक काफ्ले र पछिल्ला समय “उर्वशी यो हो उर्बशी,उडी जाने हावा” जस्ता गीत र उत्तेजक प्रश्तुतीकरण कलाका कारण चर्चामा रहनुभएका सरस्वती लामालाई दर्शकले उत्तिकै साथ दिएका हुन् ।

अन्य निदको तुलनामा शुक्रबार महोत्सव अवलोकनकर्ता बढि देखिए । नयाँ वर्ष आउनु र यो पाली महोत्सव पनि चलिरहेकोले पर्यटकहरुले दोलाघाटका सबै होटलहरु भरिभराउ छन् । महोत्सवको मज्जा लिन र “न्यु ईयर ईभ” का लागि पनि पाहुनाहरुको आगमन बढेको रोजमेरी होटलका सञ्चालक दावा लामाले बताउनुभयो ।

महोत्सवको आकर्षणको रुपमा शुक्रबारनै महोत्सव आयोजकले “न्यु ईयर ईभ तथा डिजे पार्टी”को आयोजना समेत गरेको छ । न्यु ईयर ईभ तथा डिजे पार्टीका लागि पाटनबाट चर्चित “द रोयल नेपाल व्याण्ड” लाई निम्ताएको आयोजक दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवका अध्यक्ष अष्ट श्रेष्ठले जानकारी दिनुभयो ।

“प्राकृतिक,साँस्कृतिक,कृषि र व्यापार,दोलालघाट पर्यटन प्रवद्र्धन विकासको आधार” भन्ने नाराका साथ शुक्रबारदेखी जारी महोत्सवमा थप उत्साह थप्न वैशाख १ गते शनिबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरवहादुर तामाङ,चर्चिच गायक सञ्जीव प्रधान,बविन प्रधानलाई निम्त्याईएको उहाँले बताउनुभयो ।

यत्तिबेला यहाँ आउनेहरुले सुनकोशीमा रयाफ्टिङ (बोटिड्ड) को मज्जा लिन सक्नेछन् । साथै हेलिकप्टरबाट विभिन्न प्राकृतिक सुन्दरता र धार्मिक स्थलहरुको अवलोकन गर्ने व्यवस्था गरिएको छ । महोत्सवमा अन्य आकर्षणका रुपमा उद्योग÷व्यापार स्टलहरु , बाल उद्यान रमाइलो मेला, चमेना गृह, स्वास्थ्य शिविर,कृषि प्रदर्शनी , सांस्कृतिक कार्यक्रम, राष्ट्रिय कलाकार सम्मान, नृत्य प्रतियोगिता लगायत पनि छन् ।

महोत्सवले ०७२ वैशाख १२ को भुकम्पपछि पनि दोलालघाट पर्यटकहरुका लागि योग्य छ भन्ने सन्देश प्रवाह गर्ने आयोजकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !