- कृतिका घलान
धुलिखेल,३० चैत :
काभ्रेको पर्यटकिय थलो धुलिखेलमा शुक्रबार “पर्यटन मेला तथा खाना महोत्सव” सुरु भएको छ । विविध साँस्कृतिक झाँकीका बिच धुलिखेल नगरपालिकाका उपप्रमुख विमला शर्माले महोत्सवको उद्घाटन गर्नुभयो ।
सरस्वती वजारदेखी धुलिखेल अस्पतालचोकसम्मका भित्रि बजार यहाँका मौलिक खानपान राखेका स्टलहरुले भरिएका छन् । स्थानिय महिला समुह,युवा क्लव,होटलहरुले समेत नेवारी समुदायको योमरी,चटामरी,छोईला,कचेला,प्याजको अचार,अण्डा,रोटी,रक्सी जस्ता मौलिक खानेकुराले ति पर्यटकलाई स्वागत गरेका छन् ।
प्राकृतिक छटाले रमणीय धुलिखेलमा नयाँ वर्ष मनाउन तथा मेला चलेको वखत यहाँको संस्कृति र मौलिक खानपानसंग रम्न देश विदेशका पाहुनाहरु आएका हुन् । “संवृद्ध धुलिखेलको लागि पर्यटन,शिक्षा,स्वास्थ्य,व्यापार र आवास” भन्ने धुलिखेल नगरपालिको दुरदृष्टि अनुसार स्थानिय पुरानो वजारको अस्तीत्व उजागर गर्न यस्तो महोत्सव आयोजना गरिएको आयोजक समितिका अध्यक्ष श्रवणकुमार तखाछेंले बताउनुभयो ।
धुलिखेलको भित्रि बजारको प्रवद्र्धनमार्फत पर्यटनको विकास गरे स्थानियको आर्थिक वृद्धि विकासमा सघाउ पुग्ने आयोजको भनाई छ । यसका लागि यस्ता महोत्सवहरु भोलीका दिनमा पनि गर्ने योजना सुनाउदै अध्यक्ष तखाछेंले भन्नुभयो–“भोलीका दिनहरुमा पनि यसलाई निरन्तरता दिनेछौं । महोत्सवमा सहभागिहरुले यहाँका तामाङ,नेवारी,गुरुङ लगायतका समुदायका टिपिकल खानेकुरासंगै नयाँ नयाँ खानाका स्वाद समेत लिन पाउने छन् ।
महोत्सवमा आउनेले धुलिखेलमा रहेको हजार सिंढी,देवीस्थान डाँडा जस्ता प्राकृतिक सौन्दर्यताले भरिपुर्ण स्थलका साथै घना वनको बिचमा अवस्थीत वुद्धको मुर्ति,सिद्धिनारायण,भगवती,कालि मन्दिर जस्ता धार्मिक स्थलहरुको पनि अवलोकन गर्न सक्नेछन् । महोत्सव भोलीसम्म चल्नेछ ।