
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,२९ चैत :
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बाहिर हल्ला आए जसरी वैशाख ९ गते पार्टी एकता गर्नेबारे औपचारिक निर्णय भइनसकेको बताउनुभयो । बिहिबार काठमाण्डौंमा भएको एक कार्यक्रममा उहाँले भन्नुभयो–“बैशाख ९ मा पार्टी एकता हुने औपचारिक निर्णय भइसकेको छैन ।”
दुई पार्टीका कार्यदलले बुझाएको प्रतिवेदनलाई एकता संयोजन समितिले निर्णय गरेपछि पार्टी एकताको मिति घोषणा गरिने उहाँको भनाई छ ।
उहाँले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने विषयमा नेतृत्वको व्यवस्थापन गर्न छलफल बाँकीनै उल्लेख गर्नुभयो ।
रावलले पार्टी एकता गर्ने सम्बन्धमा सबै कुरा टुंगिसकेको बताउँदै नेतृत्वको विषयमा मात्र छलफल हुन बाँकी रहेको स्पष्ट पार्नुभएको हो ।
उहाँले नेतृत्वको विषयमा छलफल गर्न बाँकी रहेकाले नै बैठक लम्बिएको संकेत गर्नुभयो ।
अबको बैठकले पार्टी एकता टुंग्याउँने प्रचण्डको स्पष्टोक्ती
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताउनुभएको छ ।
चितवन रहनुभएका उहाँले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गर्नुभयो ।
उहाँले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताउनुभयो ।
मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उहाँले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट पार्नुभयो । नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने उहाँको भनाई छ ।