• कृतिका घलान

बनेपा,२९ चैत ः
वैदेशिक रोजगारको शिलसिलामा समस्यामा परेकाहरुको सारथी बन्दै आएको काभ्रे सेवा समाज साउदी अरब नयाँ वर्ष २०७५ संगै प्रथम वार्षिक उत्सव मनाउने तयारीमा जुटेको छ । सम्मान,शैक्षिक विकास अक्षयकोष स्थापना तथा पुरस्कार वितरण जस्ता विविध कार्यक्रम गरी वार्षिक उत्सव मनाईन लागेको विहिबार पत्रकार सम्मेलनमार्फत अध्यक्ष जेनकुमार लामाले जानकारी दिनुभयो ।

अन्तराष्ट्रिय काभ्रे सेवा समाजको आयोजनामा बनेपामा  वैशाख १ गते विहान महिला र परुषको छुट्टाछुटटै ५ किलोमिटर दौड प्रतियोगिता हुने, नव नियुक्त सुचना प्रविधि तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाको प्रमुख आतिथ्यता,संघीय सांसद गंगावहादुर दोङ(वमध्वज) लगायतको विशिष्ट आतिथ्यतामा दिउसो हुने औपचारिक समारोहमा दौड प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरिनेछ ।

विदेशमा पुगेका नेपालीहरुको दुखसुखमा साथ दिन दशकौं संघर्ष गर्नुभएका काभ्रे सेवा समाज साउदी अरबका प्रमुख सल्लाहकार द्धारिकाराज गिरी,सवृद्ध नेपालको परिकल्पनामा सदासदा नेपालीपन र माटोलाई सम्मान गर्ने अन्तराष्ट्रिय गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र काभ्रेली पहिचान वरिष्ठ लोक गायक मच्छेश्वर सापकोटालाई सम्मान गर्ने कार्यक्रम समेत रहेको अध्यक्ष लामाले बताउनुभयो ।

वार्षिक उत्सवमा संस्थाले हिजोका दिनहरुमा गरेको कामको समिक्षा र आगामी दिनहरुमा अगाडी सार्ने थप कार्यक्रमका विषयमा पनि छलफल हुने अध्यक्ष लामाको भनाई छ । सोही दिन दुर्गम क्षेत्र,आर्थिक स्तर न्युन भएकै कारण शिक्षाको उज्यालो घामबाट बञ्चित भएका तथा विचमै अध्ययन रोक्नुपर्ने अवस्था आएका नेपाली बालबालिका तथा विद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ पहिलो चरणमै करिव १० लाखको शैक्षिक विकास अक्षयकोष स्थापनाको घोषणा गर्ने तयारी पनि भईरहेको उहाँले जानकारी दिनुभयो ।

काभ्रे सेवा समाज साउदी अरबले साउदी अरबमा अवैध रुपमा बसिरहेका नेपाली,म्यानपावर कम्पनी तथा दलालहरुको फन्दामा परी विचल्ली परेका नेपालीलाई स्वदेश फिर्ती,आम माफीमा परेकाहरुलाई खानावस्न तथा हवाई टिकटको व्यवस्था गरी उद्धार,साउदी सरकारबाट विभिन्न अपराधको आरोपमा जेल परेका तथा मृत्युदण्डसम्मको सजाय सुनाईएका नेपालीलाई न्यायको पहुँचमा पुर्याउन नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट),नेपाल सरकार,साउदी सरकार तथा दुतावासको सहयोगमा ति कामहरुको सहजिकरण गर्दै आईरहेको छ ।

साथै आफ्नो मुलुकमा हुने भुकम्प,वाढि पहिरो जस्ता प्राकृतिक विपत्तिबाट भएको क्षतिमा राहत दिने,गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने,शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भौतिक प्रविधि तथा संरचनामा हातेमालो,मुटुरोगी,मृगौला पिडीतहरुलाई आर्थिक सहयोग जुटाउने जस्ता मानविय कामहरु समेत गर्दै आएको अध्यक्ष लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !