• नमोबुद्ध संवाददाता

मेलम्ची,२७ चैत :
वाह्रै महिना सिन्धुपाल्चोकमा बगिरहेको मेलम्ची खोलाको पानी पिउने काठमाण्डौंवासीको सपना करिव तीन दशक देखीको हो । विविध कारणले ढिलासुस्ती भएपनि मेलम्ची खानेपानी आयोजनाको २६ किलोमिटर सुरुङ खन्ने काम बल्ल सकिएको छ ।

सुरुङ खनिसकिएपनि औपचारिक घोषणा भने चैत २९ गते गर्ने खानेपानी तथा सरसफाई मन्त्रालयले जानकारी दिएको छ । खानेपानी तथा सरसफाई मन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङको काम सक्न निर्देशन दिएको र कामको उल्लेख्य प्रगति भइरहेको बताउनुभयो ।

आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएसँगै दशैंअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी आउने आयोजनाका प्रमुख रामचन्द्र देवकोटाले बताउनुभयो । अब सुरुङको अन्तिम चरणको काम सक्न तीन महिना र थप परीक्षणका लागि एक महिना गरी चार महिना लाग्ने पनि आयोजना प्रमुख देवकोटाले जानकारी दिनुभयो । आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड रहेको छ ।
काकाकुलस्तै अवस्थामा पुगेका काठमाण्डौंवासीमा यो खबरले खुसी छाएको छ । मेलम्चीको पानी खाने तीन दशकदेखीको सपना साकार हुने आशा पलाएको काठमाण्डौं ७ का रवि मानन्धरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !