
नमोबुद्ध संवाददाता
काठमाण्डौं,२६ चैत :
सरकारले दुई साताअघि जारी गरेको श्वेतपत्र नेपाली कांग्रेसले निराशाको ‘लालपत्र’भएको आरोप लगाएको छ । पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको हो ।
अनेक प्रतिकुलता र निराशाबीच सम्पन्न भएका सबै निकायका निर्वाचनले देशभरनै नयाँ उत्साह सञ्चार भएको बेला सरकारले विगतका सरकारका सबै निर्णय गलत रहेको भ्रम छर्ने प्रयत्न गरेको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाउनुभयो ।
नेपाली कांग्रेसले सरकारले हालसम्मको आर्थिक उपलब्धिलाई नकार्ने र शून्यबाट समृद्धिको सुरुवात गर्न लागेको भन्ने भ्रम स्थापित गर्ने प्रयत्नका क्रममा श्वेतपत्र कोरिएको निश्कर्ष समेत निकालेको छ ।
विरासतमा धरायासी अर्थतन्त्र नेपाली कांग्रेसले छोडेको र आफूहरुले सम्हालेको भन्ने भोलिको चुनावी एजेण्डा स्थापित गर्ने मनोविज्ञानको जगमा वामगठबन्धनको सरकार उभिएको टिप्पणी कांग्रेसको छ ।
सरकारद्वारा जारी गरिएको श्वेतपत्रको नियत आर्थिक परिसूचक र सन्दर्भको संगतीपूर्ण प्रष्टताले नभएर राजनीतिक पूर्वाग्रहबाट बनाइएको नेपाली कांग्रेसको तर्क छ । श्वेतपत्रमा बितेको २५ वर्षमा ६२ गुणाले वृद्धि भएको राजस्वको तथ्य उल्लेख नभएकोमा कांग्रेसले रोष प्रकट गरेको छ ।