- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०९ चैत :
यही चैत १३ गते कतार दोहाको सुहइम बिन स्टेडियममा हुने यमनविरुद्धको दोस्रो लिग खेल्न जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ । एएफसी एसियन कप छनोटअन्तर्गत् समूह चरणको अन्तिम खेल खेल्ने राष्ट्रिय फुटबल टोलीलाई शुक्रबार सफलताको शुभकामना दिँदै अखिल नेपाल फुटबल संघले बिदाई गरेको हो ।
यसअघि, काठमाडौंमा नेपालले यमनसँग गोलरहित बराबरी खेलेको थियो । छनौट खेलको पाँच खेलमा नेपालले दुई खेलमा बराबरी खेलेको छ । दुई अंक जोडेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । समूह ‘एफ’मा रहेको नेपाल यसअघि नै समूह चरणबाटै बाहिरिइसकेको छ ।
समूह ‘एफ’मा रहेको फिलिपिन्स ९ अंकका साथ शीर्ष स्थानमा छ भने यमन ७ अंकसहित दोस्रो तथा समान ७ अंक नै जोडेको ताजिकिस्तान गोलअन्तरका आधारमा तेस्रो स्थानमा छ । नेपाल अंकतालिकाको पुछारमा छ । नेपाली टोलीमा गोलकिपर बिकेश कुथू, किरण चेम्जोङ र एलन न्यौपाने, डिफेन्डरमा अनन्त तामाङ, विराज महर्जन, रजिन धिमाल, आदित्य चौधरी, दिनेश राजवंशी र देवेन्द्र तामाङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, अन्जन विष्ट, रोहित चन्द, विशाल राई, सुनील वल, हेमन गुरुङ र हेमन्त थापामगर तथा स्ट्राइकरमा विमल घर्तीमगर, सुमन लामा, नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की छन् ।
टोलीको मुख्य प्रशिक्षक योतुकु कोजी, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्ज्वल मानन्धर छन् । नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ ।