- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०९ चैत :
नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाको कडा आलोचना भएको छ । पार्टी संगठन, निर्वाचनको समीक्षालगायतका बारेमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा सदस्यहरुले सभापति देउवाको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै चर्को आलोचना गरेका हुन् ।
शुक्रबार बोल्ने अधिकांश नेताले पार्टीले निर्वाचनका बेला स्पस्ट रणनीति बनाउन नसक्दा पराजय भोग्नुपरेको धारणा राखेका छन् । उनीहरुले पार्टी सभापति देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी व्यक्तिगत महत्वाकांक्षा र सत्ताकेन्द्रित राजनीतिक चरित्र देखाएका कारण पार्टी कमजोर भएको टिप्पणी गरे ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक सुदृढीकरण र एकताबद्ध भएर अगाडि बढ्न नेताहरुले सुझाव दिएको बताउनुभयो । संविधानमा भएको फेरबदलअनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउने बारेमा पनि छलफल भएको उहाँले जानकारी दिनुभयो । बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भएकाले बैठक एक सातासम्म चल्ने जनाइएको छ ।