
- नमोबुद्ध संवाददाता
काठमाण्डौं,०८ चैत :
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मातहातका निकायलाई सात दिनभित्र आआफ्ना निकायको परिणाममुखी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको छ । मन्त्रालयमा विहिबार आयोजित कार्यक्रममा उहाँले मातहतका संघसंस्थाका प्रमुखलाई आगामी तीन÷चार महिनाभित्र लागु हुने गरी उद्देश्य र लक्ष्यसहितको कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो ।
संविधानले सूचनाको हकलाई मौलिक हकको रुपमा उल्लेख गरेकाले अब सर्वसाधारण जनतासमक्ष गुणस्तरीय सूचना सुलभ र सहज रुपमा पु¥याउन सरोकारवाला सबै लाग्नुपर्ने उहाँले बताउनुभयो । हालसम्म अस्थिर सरकार हुँदा नीतिमा फेरबदल हुने, कर्मचारीको छिटो छिटो सरुवा हुनेलगायतका समस्या रहेको बताउँदै उहाँले अब त्यस्ता समस्याको अन्त्य हुने दाबी गर्नुभयो ।
राज्यमन्त्री बाँस्कोटाले समृद्ध राष्ट्र निर्माण गर्ने र सुशासन कायम गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको अवगत गराउँदै अबको दशकलाई नवनिर्माणको दशक बनाउन सबै एकताबद्ध र कर्तव्यनिष्ठ भएर काम गर्नुपर्ने बताउनुभयो ।