- नमोबुद्ध संवाददाता
धुलिखेल,०८ चैत :
इपिएस प्रणालीबाट दक्षिण कोरिया जान चाहने कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य विहिबारबाट सुरु हुने भएको छ । सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत जान चाहानेका लागि फारम संकलन सुरु भएको हो ।
परीक्षामा सहभागी हुनेले विहिबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम भर्न सक्नेछन् । भाषा परीक्षामा सहभागी हुनका लागि १८ बर्ष पूरा भई ३९ बर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्धी तोकिएको छ ।
यसैबिच परीक्षामा सहभागी हुन चाहनेले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउने भएका छन् । यसअघि फारम लिने विभिन्न केन्द्रहरुमा रातभर लाईन बस्नुपर्ने बाध्यता थियो । यो पटक अघिका बर्षझैं फारम भर्न रातभर लाइनमा बस्नुपर्ने छैन ।