• नमोबुद्ध संवाददाता

धुलिखेल,०७ चैत :
स्थापनाको ५० वर्षमा जिल्ला सहकारी संघ लिमिटेडले सहकारी स्वर्ण महोत्सवको आयोजना गर्ने भएको छ । सहकारीमार्फत नागरिकको जीवन उकास्न सकिने सन्देशका साथ बनेपामा विविध कार्यक्रम गरी स्वर्ण जयन्ती मनाउन लागिएको हो । चैत महिना भर सहकारी महोत्वसव मनाउने तयारी भईरहेको स्वर्ण महोत्सव प्रचारप्रसार समितिका संयोजक दिलिप शर्माले जानकारी दिनुभयो ।

यसरी हुदैछ तयारी

  • मूल समारोह समितिमा मनोनयन पत्र तयारी तथा पत्राचार

संघले सहकारी महोत्सवलाई व्यवस्थित र सफल बनाउन २ सय ५१ सदस्यीय मूल समारोह समिति निर्माण गरेसँगै मनोनयन गर्नुपर्ने संस्था र व्यक्तिहरुलाई मनोनयन गर्ने काम सोमबार सम्पन्न गरेको छ । सहकारी तथा विभिन्न सहकारी आन्दोलनमा नेतृत्वदायि भूमिका निर्बाह गर्दै आएका ब्यक्तित्वहरुलाई मूल समारोह समितिमा मनोनयन गरिएको मूल समारोहका अध्यक्ष विनोद पराजुलीले बताउनुभयो । सोमबारै २ सय ५१ जना सदस्यहरुलाई पत्राचार गर्ने कार्य भएको छ । मूल समारोह समिति सचिवालयका अनुसार महोत्सवमा सहकारी संस्था तथा ब्यक्तिगत रुपमा सहाभगिता तथा सहयोगका लागि आह्वान भएको पत्र बनेपा, कुशादेवी, र्याले, लगायतका स्थानमा पठाउने कार्य भएको छ ।

  • प्रचार प्रसार समितिले पनि काम थाल्यो

सहकारी महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि गठन भएको प्रचार प्रसार समितिको बैठक सोमबार सम्पन्न भएको छ । ७ सदस्यिय उक्त समितिले जिल्लाका बनेपा, पनौती, कुशादेवी, धुलिखेल, नाला, साँगा,पाँचखाल, भकुण्डेबेशि, कुन्ता लगायतका क्षेत्रमा सहकारीकर्मीहरुकै सक्रियतामा प्रचार प्रसारका लागि ठूला ब्यानर मूख्य सडकहरुमा राख्ने जिम्मा लगाउने निर्णय गरेको छ ।
प्रचार प्रसार समितिका संयोजक दिलिप शर्माका अनुसार उक्त कार्य कुशादेवी, रयाले तथा पाँचखालबाट सुरु भएको छ । साथै प्रचार प्रसारका लागि काभ्रे बस व्यवसायि संघ तथा काभ्रे मिनिवस व्यवसायि संघलाई काठमाण्डौ चल्ने बसहरुमा प्रचार प्रसारका सामग्रीहरु राख्ने निर्णय भएको शर्माले जानकारी दिनुभयो ।

बैठकले जिल्लामा रहेका सबै एफएम पत्रपत्रिका, अनलाईनहरुलाई समावेश गरी प्रचार प्रसार गर्ने र जिंगल तयार गर्दै बजारहरुमा सबैको सहभागिताका लागि आह्वान गर्ने निर्णय गरेको शर्माले बताउनुभयो । त्यसैगरि प्रचार प्रसारलाई भव्य बनाउन टि सर्ट, टोपी तथा ब्याचका लागि दाताहरुको खोजी गर्दै सहकारी महोत्सवको बारेमा पत्रपत्रिका, रोडियो र अनलाइन पत्रिकामा समेत बिज्ञापन गर्न थालिएको छ ।

आम सहकारी कर्मी जगतमा स्वर्ण माहेत्सवका बारेमा जानकारी दिन ब्रसर समेत तयार गरिएको छ । सहकारीको लक्ष्य, उद्देश्य, बिचार, सिद्धान्तहरुलाई प्रचार प्रसार गराउनका लागि स्वर्ण महोत्सव जानकारी पुस्तिका तयार गरी पूर्णता दिने कार्य समेत सम्पन्न भएको छ । जसले सहकारीले नागरिकको जीवनस्तर उकास्न सकिने सकारात्मक सन्देशहरु फिजिनेछन् ।

  • आर्थिक समितिको तयारी बैठक 

मंगलबार सहकारी महोत्वसवलाई सफल बनाउन आर्थिक व्यवस्थापन समितिको तयारी बैठक बसेको छ । विशेषतः महोत्सव सम्पन्न गर्न आवश्यक आर्थिक संकलन गर्ने र कार्यक्रमको लागि सह–आयोजक, प्रायोजकका रुपमा समावेश गर्ने तरीकाहरु तथा बिषयगत संघ, प्रारम्भिक सहकारी संस्था, ब्यक्तिगत दाताहरुसँग अनुरोध गर्दै आर्थिक सहायताको प्रयास गर्ने बिषयमा विभिन्न निर्णयहरु भएको आर्थिक व्यवस्थापन समितिका संयोजक ठाकुरनाथ अधिकारीले जनाउनुभयो ।

  • प्रदर्शनी व्यवस्थापन समितिको बैठक  

स्वर्ण महोत्वसको लागि प्रदर्शनी व्यवस्थापन समितिको वैठक बुधबार सम्पन्न भएको छ । रामचन्द्र भट्टराई संयोजक रहेको यस समितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले स्वर्ण महोत्सवमा स्टलहरुको व्यवस्थापन गर्ने र व्यापारीहरुलाई स्टल बुकिङको लागि आव्हान गर्ने निर्णय गरेको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !