• आश्रीता कोइराला

सर्लाही,०७ चैत :
उखुको भुक्तानी तत्काल हुनुपर्ने माग गर्दै सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा महिलाहरु रिले असन बसेका छन् । ३ दिनदेखि जारी रिले अनसनमा बुधबार भने महिलाहरु मात्र सहभागि भएको उखु किसान संचिता घिमिरेले जानकारी दिनुभयो । अनसनमा घिमिरे सहित एक दर्जन महिला सहभागि छन् । अन्य खेतीको तुलनामा बढी लागत लाग्ने उखु विक्री बापतको भुक्तानी चिनी उद्योगले समयमै नदिँदा घर व्यवहार चलाउनै निकै समस्या परेको घिमिरेले बताउनुभयो ।
अढाई महिनादेखि उखुको भुक्तानी नपाएपछि सोमबारबाट किसान सम्बद्ध विभिन्न संगठनको आव्हानमा ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा रिले अनसन सूरु भएको थियो । ऋण काढेर डेढ वर्षअघि लगाईएको उखु किनेको ईन्दुशंकरले अढाई महिनादेखि भुक्तानी नगर्दा समस्यामा परेको किसानको गुनासो छ ।
विगत वर्षहरुमा उखु दिएको १५ देखि ३० दिनभित्र किसानलाई भुक्तानी गर्ने ईन्दुशंकरले यसवर्ष भने अढाई महिनासम्म पनि भुक्तानी नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष बेदबहादुर बुढाथोकीले बताउनुभयो ।
यसैबिच ईन्दुशंकरका उखु प्रबन्धक योगनारायण रजकले किसानको भुक्तानी सूरु गर्न प्रयास भईरहेको जानकारी दिनुभयो । उद्योगको चिनी विक्री नभएको र बैंकबाट ऋण नपाउँदा किसानलाई भुक्तानी गर्न समस्या भएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !