• नमोबुद्ध संवाददाता

भक्तपुर,२८ फागुन :
‘आज भन्दा २ महिना अगाडी मात्र हाम्रो चीनजान भयो,फेसवुक मार्फत । बहिनीले एउटा महत्वपुर्ण सन्देश लिएर सगरमाथा चढ्न लागेको सुनाउनुभयो,कुरा प्रष्ट हुन तीनदिन लाग्यो,त्यसपछि म आफु चुप लागेर बस्न सकिन,फलस्वरुप आज हामी यसरी एकै थलोमा भेट्ने अवसर मिल्यो।’

–यसरी पृष्ठभुमि फुकाउँदै शनिबार भक्तपुरमा आयोजित वृहत साँस्कृतिक कार्यक्रमको सुरुवातमै मञ्चमा झुल्कीनुभयो खलनायक तथा समाजसेवी विकु थोकर । कार्यक्रम थियो अबको १५ दिनपछि सगरमाथा आरोहण गर्न लाग्नुभएका शर्मिला तामाङलाई आर्थिक संकलन अभियान अन्तरगतको ।

विभिन्न सामाजिक अभियानहरुमा अग्रसर थोकरको बारेमा थाहा पाएपनि शर्मिलाले सुरुमा सिधै सहयोगको प्रश्ताव राख्न सक्नुभएनछ । सहयोगी मनका धनी थोकर सकारात्मक देखिएपछि शर्मिलाले खुलेरै भन्नुभएको रहेछ–‘दाजु म बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देशका साथ सगरमाथा आरोहण गर्दैछु,सहयोग गर्नुपर्यो ।’ साथै शर्मिलालो भोलीका दिनमा पर्यटनको क्षेत्रमा तामाङ महिलाहरुको सहभागिता बढाउन आफुले भुमिका खेल्ने वचन पनि दिनुभएको रहेछ ।

जवाफमा थोकरले व्यक्तिको स्वार्थभन्दा आफ्नो समुदायको लागि ति कामहरु गर्ने भएमात्र सहयोग गर्ने र तिनमा आफ्नै सहकर्मी कलकारहरुलाई गुहार्ने बताउनुभयो । त्यसैले शनिबार भक्तपुरको एक पार्टी प्यालेसमा ‘वृहत साँस्कृतिक धमाका’ मार्फत दर्जनौं कलाकार,दर्शक र समाजसेवीहरुको जम्काभेट हुने अवसर जुटाउनुभयो थोकरले । उनिहरुलाई यिनै कार्यक्रममा सहभागि गराई पारदर्शि ढंगले सहयोग जुटाउनु यो कार्यक्रमको उद्धेश्य देखियो । आफ्नै थोकर फिल्म प्रालिको आयोजनामा भएको कार्यक्रममा थोकरले शर्मिलाको अभियानमा देशदेखी विदेशसम्मका नेपालीजन,विभिन्न संघसंस्थाहरुले सहयोगको हात बढाएकोमा खुसी व्यक्त गर्नुभयो ।

थोकरले चालेको यो सामाजिक अभियानबाट खुसी देखिएका सहयोगी मनकारीहरु धेरै देखिए । विशिष्ट अतिथिको रुपमा उपस्थित पुर्व सभासद तिर्थ लामाले १ लाख ५१ हजारको चेक हस्तान्तरण गर्नुभयो । युवा व्यवसायी रोशन लामाले पनि १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गर्नुभयो । औपचारिक कार्यक्रमको अन्त्यतिर आगमन भएका पुर्व राज्यमन्त्री दिलमान पाख्रीनले पनि पचास हजारभन्दा बढि सहयोग गर्ने घोषणा गर्नुभयो ।

शर्मिलाले आफुलाई प्राप्त सहयोग खेर जान नदिने,आगामी दिनहरुमा आफ्नो समुदाय र देशकै लागि विभिन्न सामाजिक अभियानहरुमा क्रियाशिल रहने वाचा गर्दै विशेष पहल गर्ने विकु थोकर र सहयोगीहरुलाई धन्यबाद दिनुभयो ।
निकै हौसिएका थोकरले भन्नुभयो–‘आरोहणका लागि चाहिने एउटै अक्सीजन सिलिरन्डरलाई पनि थेरै खर्च गर्नुपर्दोरहेछ, त्यसैले अभियानलाई तिव्रता दिइरहेका छौं, यसमा धेरै व्यक्ति र संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ, १५ लाख रकम जम्मा भईसक्यो,अबको १० दिनमात्रै यो अभियान चलाउछौं,आशा छ सम्पुर्ण २७ लाख रकम जम्मा हुनेछ ।’

 

हामी सबैलाई थाहा छ,विश्वसामु नेपाल र नेपालीको शिर उचो बनाउने मुख्य गर्विलो पहिचान हो ‘बुद्धको जन्मभुमि नेपाल’ । यिनै सन्देश बोकेर सगरमाथा आरोहणको तयारीमा रहनुभएका शर्मिला स्याङतानलाई दिलोज्यान दिएर लागेका थोकर आवश्यक रकम नजुटे आफैं व्यक्तिगत खर्च गर्न पनि पछि नपर्ने बताउनुहुन्छ । उहाँ आह्वान गर्नुहुन्छ –‘यो हामी सबैको सरोकारको विषय हो, पहिचानका लागि,तामाङ समुदायको लागि,नेपालको लागि र विश्वकै लागि गर्वको कुरा हो ,त्यसैले शर्मिला बहिनीलाई सहयोग गर्न हामी सबै एक ठाउँमा उभिन जरुरी छ । ’

थोकरको यो आसय सहर्ष स्वीकार्दै पारिश्रमीकविना चार्चित कलाकारहरु स्टेजमा उभिएर दर्शक तताए । वृहत कन्सर्टमा सितल मोक्तान,सञ्जिव वाईवा,विश्व दोङ,शसिकला मोक्तान,विशाल काल्तान,नायिका तथा नव गायिका सुनिता लुङवा,टेलिचलचित्र रिसानी माफका कलकारहरुले आ–आफ्ना प्रश्तुती दिदै शर्मिलाको सपना साकार पार्न अघि बढेका विकु थोकरको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस !