- नमोबुद्ध संवाददाता
काठमाण्डौं,२७ फागुन :
प्रधानमन्त्री केपीओलीले आईतबार संसदबाट विश्वासको मत लिदै हुनुहुन्छ । प्रतिनिधिसभाको अपराह्न ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यसूची छ । ओली ३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो ।
यसैबिच ओली नेतृत्वको वाम गठबन्धन सरकारको पक्षमा दुईतिहाई समर्थन देखिएको छ । सरकारले ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा १ सय ९४ सांसदको समर्थन देखिएको हो । दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ ।
तर, संसमा प्रतिनिधित्व गर्ने दलहरूको अहिले सम्मको निर्णयका आधारमा ओली सरकारको पक्षमा दुईतिहाईभन्दा १२ मत बढी देखिएको छ । प्रधानमन्त्री ओलीलाई अहिलेसम्म एमालेका १ सय २१, माओवादी केन्द्रका ५३ र राजपाका १७ सांसदको समर्थन रहने देखिन्छ ।
संविधानको धारा ७६ को उपधारा ४ मा प्रधानमन्त्रीले आफु नियुक्त भएको मितिले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।