• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२३ फागुन :
अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ । लामा समानुपातिकतर्फबाट निर्वाचित हुनुभएको हो । एकै व्यक्ति दुई पदमा बस्न नहुने पार्टीको नियमअनुसार उहाँ अनेरास्ववियुको नेतृत्व छाड्ने तयारीमा हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रसँग नेकपा एमालेको पार्टी एकता हुन लागेकाले आफ्ना भ्रातृसंगठनको महाधिवेशन एमालेले रोकेपछि लामाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न थालेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले बताउनुभयो ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठनलाई चलायमान बनाउन लामाले नेतृत्व छाड्न थाल्नुभएको हो । वि.सं. २०७२ माघ २८ गते अनेरास्ववियुको २२ औं राष्ट्रिय महाधिवेशन भएको थियो । दुई वर्ष कार्यकाल रहेको केन्द्रीय कमिटीको समयावधि सकिएको छ ।
लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडमा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !