• नमोबुद्ध संवाददाता

काठमाण्डौं,२३ फागुन :
राष्ट्रपति विद्यादेवी भण्डारीनै फेरि अर्कोपटक पनि राष्ट्रपति बन्नुहुनेभएको छ । उहाँले बुधबार राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि उहाँले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । राष्ट्रपति भण्डारीले आफैँ निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँका प्रस्तावकमा सांसद माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा सांसद रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी हुनुहुन्छ । राष्ट्रपति निर्वाचनका लागि संघीय संसद भवन नयाँबानेश्वर परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

चर्को असन्तुष्टिका बिच नेकपा एमालेले मंगलबार वर्तमान राष्ट्रपति भण्डारीलाई नै पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । राष्ट्रपति बन्न आकांक्षीका रुपमा बरिष्ठ नेता झलनाथ खनाल पनि हुनुहुन्थ्यो । एमालेका थुप्रै नेता कार्यकर्ता पनि राष्ट्रपतिमा नयाँ अनुहारलाई अगाडी सार्ने पक्षमा थिए ।

ति नेता कार्यकर्ता लामो समय पार्टीमा योगदान रहेका,विवादमा नमुछिएका व्यक्तित्वको चिनारी बनाउनुभएका खनाललाई भावी राष्ट्रपति मान्न तयार थिए । अन्ततगत्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली लगायतका नेताहरुको बलमा भावी राष्ट्रपतिमा भण्डारीलाईनै दोहोर्याउने निर्णय भएको असन्तुष्ट नेताहरु बताउँछन् ।

यसैबिच नेपाली कांग्रेसका नेता लक्ष्मी राईले पनि राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । भोजपुरका शहीद दिवानसिंह राईको छोरी लक्ष्मी राईले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । उहाँका प्रस्तावकमा सांसद चित्रलेखा यादव, मानबहादुर विक, पार्वता डिसी चौधरी, देवेन्द्रराज कँडेल र सुरेन्द्रराज पाण्डे तथा समर्थकमा सांसद मेखलाल श्रेष्ठ, शिवचन्द्र चौधरी, सरिता प्रसाईं, सुजाता परियार र राधा घले हुनुहुन्छ ।

उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँगै कुरा गर्दै नेत्री राईले आफ्नो उम्मेद्वारी विकास र समृद्धिका लागि भएको बताउनुभयो । कांग्रेसको बुधबारनै बसेको केन्द्रीय कार्यसमिति बैठकले उहाँलाई पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।  प्रदेशसभादेखी,संघिय संसदसम्म एमाले माओवादी गठबन्धनकै बहुमत रहेकोले भण्डारीनै भावी राष्ट्रपति बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस !