• सेम्ह्रो फुलमान मोक्तान

सिन्धुपाल्चोक,०२ फागुन
जिल्लाको ग्रामिण भेगसम्म ल्होछार जागरण देखिएको छ । यो पालीको २८५४ औं ल्होछारलाई गाउँ गाउँ स्थापित गराउन अहिले सिन्धुका सचेत युवादेखी उनिहरु सम्मीलित संस्था,क्लवहरु क्रियाशिल छन् । नयाँ वर्ष फेरिएको वखत मनाइने तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछारमा ईष्टमित्र भेटघाट,शुभकामना आदानप्रदान,मोलम पुजा,दज्र्यु गाड्ने तथा नाचगान जस्ता कार्यक्रम हुन्छन् ।

ल्होछार यो पाली कसैले माघ महिनामा मनाईसकेका छन् भने कसैले फागुनमा मनाउने तयारी गर्दैछन् ।
तामाङहरुको साझा संस्था नेपाल तामाङ घुदुङले सोनाम ल्होछार माघ शुक्ल प्रतिपदाको दिन मनाईने परम्पराहनुसार यो पटक मलमासका कारण प्रतिपदा फागुन ४ गते परेको जनाउदै यसैको सेरोफेरोमा ल्होछार मनाउन आग्रह गरेकोले पनि फागुनमा ल्होछार मनाउने तयारीमा सिन्धुका थुप्रै तामाङहरु पनि छन् । उच्च हिमाली भेगमा रहेका शेर्पाहरुले पनि यहि फागुनमा धुमधामका साथ ल्होछार मनाउदैछन् । लामो समय राज्यकै दमनका कारण विस्थापित ल्होछार पर्व विउँताउन गाउँमा रहेका क्लव,संघसंस्थाले बढि क्रियाशिलता देखाएका हुन् ।

यसैबिच इन्द्रावती गाउँपालिकामा नवलपुर युनाइटेड क्लबले यसमा तदारुकता देखाएको छ । क्लवकै पहलमा स्थानियवासीले भव्य साँस्कृतिक कार्यक्रमका साथ ल्होछारको स्वागत गरिसकेका छन् । क्लबद्वारा माघ २२ गते आयोजित नवलपुर युनाइटेड ल्होछार कन्सर्टमा उनिहरुले खुलेर खुसी साटे ।

पूर्व सभासद् एवं नेपाली कांग्रेसका युवा नेता तीर्थ लामाको प्रमुख आतिथ्यतामा क्लबका अध्यक्ष चीन लामाको सभापतित्वमा कार्यक्रम गरिएको क्लवका कोषाध्यक्ष फुलमान मोक्तानले जानकारी दिनुभयो । अध्यक्ष लामार्ले ल्होछार कन्सर्ट’ युवालाई आफ्नो मौलिक संस्कृतिप्रतिको मोह बढाउन र तामाङ समूदायको संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्न आयोजना गरेको बताउनुभयो । क्लबको प्राँगणमा आयोजित उक्त कार्यक्रममा चर्चित तामाङ सेलो गायक रोज मोक्तानले  ‘हेलम्बुको बजारमा ,आयो ढल्काउदै झमझम इस्टाकोट’ लगायतका चर्चित गीतबाट दर्शकलाई नचाउनुभयो । गायिका शशिकला मोक्तानले विभिन्न तामाङ सेलो, तामाङ गीत  र ‘नाचु नाचु लाग्यो’  लगायत चर्चित गीत सुनाउदै माहौल उल्लासमय बनाउनुभयो ।

चिसोचिसो मौसममा गायक विशाल  काल्तानले ‘गादे ज्याबा जामे कादे छारजिम् होइ’ जस्ता गीत सुनाएर स्टेज तताउनुभयो । यसैगरी सिन्धुको सान गायक आशमान लोप्चन,गायिका निर्मला घिसिङ, गायक जीवन बम्जन गायक प्रयास दोङले पनि भरपुर रुपमा साँगीतिक मनोरञ्जन दिएका थिए । साथै नायिका सुष्मा मोक्तान र स्टाइलिस कृउ डान्स ग्रुप तथा ब्यान्ड टिमले पनि आफ्नो प्रस्तुति मार्फत मनोरञ्जन दिलाउने प्रयास गरे ।

कार्यक्रमका प्रमुख अतिथि पुर्व सभासद तीर्थ लामाले राज्यको शासन र प्रशासनमा तामाङको उपस्थिति कम भएकै कारण जागरण ल्याउन मुस्किल परेको बताउनुभयो । उहाँले करिब २५० बर्ष बढी एउटै धर्म र जातका शासकरुले तामाङ जातिमाथी शोषण गरेकोले राजनीतिक एवं समाजिक रुपमा पछि परेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘साँस्कृतिक रुपमा त अहिले तामाङहरु सचेत हुदैछन् , अब शासन र प्रशासनमा तामाङ पुग्नु पर्छ ।’

विशेष अतिथि नेपाली कांग्रेसका जिल्ला सचिव बिलबहादुर तामाङले तामाङ समुदायका लागि आफुले सक्दो सहयोग गर्ने र आफ्नो मौलिक संस्कृति जोगाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । साथै कार्यक्रममा पुगेका इन्द्रावती वडा नम्बर ४ का वडाध्यक्ष जगतमान ताल्चाभडेल, इन्द्रावती वडा नम्बर १ का वडाध्यक्ष श्री लामा र इन्द्रावती वडा नम्बर २ का वडाध्यक्ष वीरबहादुर तामाङले गाउँघरमा गाइने मौलिक तामाङ गीत गाउदै तामाङ समुदायको संस्कृति संरक्षणमा सक्दो सहयोग गर्ने वचन दिए ।

प्रतिक्रिया दिनुहोस !