• राजकुमार गोले

धुलिखेल,काभ्रे,०२ फागुन :
अपहरणमा परेकी नमोबुद्ध नगरपालिका ९ की एक युवतीको प्रहरीले सकुशल उद्धार गरेको छ । मंगलबार बेलुकी ६ बजे २१ वर्षीया रोनिका तामाङ(नाम परिवर्तन) मुख्य बजार भकुण्डेमा रहेका एक काठ मिलमा दाउरा किन्न जाँदा अपहरणमा परेको प्रहरीले जनाएको छ । ति युवतीको प्रहरीले सकुशल उद्धार गरेको हो । युवतीले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा आफुलाई दैलेख चामुण्डा नगरपालिका २ का २२ बर्षिय बम बहादुर बिष्टले अपहरणपछि बलात्कार गरेको किटानी जाहेरी पनि दिएकी जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दियो ।

यस्तो छ युवतीको वयान :

आफु माथी अपहरण गरि बलात्कार गरिएको भन्दै युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुधबार किटानी जाहेरी दिएकी छिन् । पीडित रोनीकाले भक्कानिदै भन्नुभयो– ‘म पहिला दाउरा लिन जाँदा दाउरा छैन,काँचो मात्रै छ,एकै छिन पख भन्दै कुरायो । पछि दाउरा दिएर पठाउँदा साँझ परिसकेको थियो । म सँधै सोहि मिलमा दाउरा लिन जान्थेँ , दाउरा लिएर फर्किदै गर्दा उसले अचानक दाउराको भारी पल्टाएर मुखमा छोप्यो । घिसार्दै मलाई खोला छेऊ पुर्यायो अनि मुख थुनेर जबर्जस्ती बलात्कार गर्र्याे । प्रतिकार गर्दै भाग्न खोज्दा मुख थुनेर राती नै उसले भकुण्डेबाट बनेपा आउँदै गरेको तरकारी गाडीमा राखेर पनौतीको ज्यालापाटी भन्ने ठाउँमा पुर्यायो । उसलाई केहि दिन अघि मात्रै देखि त्यो मिलमा काम गर्न आएको देखेको देखेकी थिएँ ।’


बिष्टले आफुलाई बलात्कार गरिसकेपछि प्रलोभन देखाएको र अरुले थाहा पाउँछन् भनेर धम्क्याएको समेत पीडित रोनीकाले जाहेरीमा उल्लेख गर्नुभएको छ । मंलबार साँझ एकाएक परिवारबाट छोरी गायब भएपछि परिवारले खोजि गरेका थिए । भोलिपल्ट परिवारसँग सम्पर्क हुँदा पीडित रोनिकाले आफु बलात्कृत भएको कुरा आफन्तलाई भनेपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए । लगत्तै पीडितलाई पनौतीबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । प्रहरीले आरोपीलाई पनि बुधबार बिहान नियन्त्रणमा लिएको छ । पीडितको मेडिकल परीक्षण गर्न काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल बहादुर थापाले जानकारी दिनुभयो । पिडित युवतीले आफुलाई अपहरण गरी बलात्कार गरेको जाहेरी दिएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘ जाहेरी परेको छ,पक्राउ परेका बिष्टमाथी थप अनुसन्धान भईरहेको छ ।’

प्रतिक्रिया दिनुहोस !